ढाकामा, नयाँ सरकारभन्दा हनिफ बिर्यानी बढी लोकप्रिय छ
कुनै समय, बंगाल पृथ्वीकै सबैभन्दा धनी ठाउँ थियो। सन् १७००काे सुरुतिर, यसले विश्वव्यापी जीडीपीको झण्डै ५ प्रतिशत हिस्सा ओगटेको थियो
साँझ ठिक ६ बजे, विमान धावनमार्गमा थियो। हाम्रा लागि यो विरलै हुने कुरा हो। हालैका दिनहरुमा मैले समयमा उडेको अनुभव गर्न पाएको छैन। मलाई विश्वास गर्नुहोस्, म देशको बारेमा नराम्रो कुरा गरिरहेको छैन। यो एउटा सुन्दर देश हो र यहाँका मानिसहरू गजब छन् ।प्राय विदेशीहरुले त्यसाे भन्ने गर्छन्। देश र जनता दुबै गजब भएकाे भए कुन कुराले हामीलाई विश्वकै पिछडिएको र अति कम विकासित देश बनाएर राख्यो? हँ। छोड्नुस्, यस्ता सानातिना कुरा नगरौं।
हामी पूर्वतर्फ जाँदै थियौं, तर काठमाडौंमा सामान्यतया तपाईंले जहाजमा एकफन्को मार्नुपर्छ, त्यसैले हामी उत्तरतर्फ उड्यौं, घुम्यौं, अनि बंगलादेशतर्फ अर्थात दक्षिण-पूर्वतर्फ लाग्यौं । तपाईं भारत पनि भन्न सक्नुहुन्छ, तर बंगालीहरू भारतलाई मन पराउँदैनन् त्यसैले अहिलेका लागि त्यो नभन्नु नै बेस होला। मैले भेटेका धेरै बंगालीहरूका भनाइका आधारमा म यो भन्दैछु। मेरा भारतीय साथीहरू, सरी । सायद उनीहरू भारतीय सरकारलाई मात्र घृणा गर्छन्। मानिसहरू आफ्नै सरकारलाई त माया गर्दैनन् अरू कसैको सरकारलाई कसले किन पो माया गराेस्? सरकार माया गर्ने कुरा होइन। यो एउटा खतरनाक जीव हो, तर हामी आफैंले सृजना गरेको ।
मलाई उड्न खासै मन पर्दैन । म चाहन्थें कि काठमाडौंदेखि ढाकासम्म बस चलोस् ताकि म गाडी चढेर दक्षिणतिर जान सकूँ, चियाका लागि रोकिन सकूँ, र मानिसहरूसँग कुरा गर्न सकूँ। यो त्यति टाढा पनि त छैन । उडानबाट मात्र एक घण्टाको बाटो त हो तर जमिनको मार्गबाट त्यहाँ पुग्न एकदमै गाह्रो छ।
दक्षिण एसियामा उडान गर्दा, म सधैं अफगानिस्तानदेखि म्यानमारसम्मको यात्राको कल्पना गर्छु, नदी र पहाडहरू पार गर्दै, स्थानीय खाना खाँदै, र संगीत सुन्दै। तर यो एउटा यस्तो सपना हो जुन कहिल्यै साकार हुँदैनहाेला। काबुलबाट पाकिस्तान, भारतकाे पिश्चमी हिमालय, नेपाल, असम, भुटान वा सिक्किम हुँदै म्यानमार, र अगाडि थाइल्याण्ड, कम्बोडिया, भियतनामसम्म जाने रेलको कल्पना गर्नुहोस् त।
अहिलेका लागि त यो सपनाहरूको पनि सपना हो। म कहिलेकाहीँ सपना देख्न पनि डराउँछु किनभने यदि भइहाल्यो भने , म यसलाई कसरी अंगालूँला भन्ने पो मनमा आउँछ?
यो क्षेत्र अत्यन्त विभाजित छ भन्ने तपाँइलाइ थाहा नै छ। अफगानिस्तान अहिले अतिवादी, तालिबानको शासनमा छ। भारत र पाकिस्तान एकअर्कासँग कुरा समेत गर्दैनन्। नेपाल अलि बढी लचिलो छ तर यो पनि समस्याहरूबाट मुक्त छैन। भारत, हाम्रो साझा ठुल्दाइ हो जस्को कुनैपनि छिमेकीसँग राम्रो सम्बन्ध छैन। म्यानमारमा जुन्ताको बन्दुकको बलमा शासन चलिरहेको छ। बंगलादेश र श्रीलंकाको अवस्था पनि राम्रो छैन। यो क्षेत्र देखेर बढो दिक्क लाग्छ। यी हिमाल पहाडहरुले जन्माउने नदीहरूले हाम्रो जीवन चलाएका छन् र हामी यी पहाडहरूका उत्पादन हौं, तैपनि हामी खासमा साथीसम्म बन्न सकेका छैनौ।
अहिलेका लागि उडौं।
जब तपाईं विमानमा हुनुहुन्छ, चिन्ता गर्नुको कुनै अर्थ हुँदैन, तर तपाईं चिन्ता गरिरहनुहुन्छ। कम्तीमा म चाहि गर्छु। तपाईं जहाज चढेपछि, कि अवतरण गर्नुहुन्छ, कि त गर्नुहुन्न; त्यहाँ यी दुईवटा मात्र सम्भावनाहरू हुन्छन्। भन्न सजिलो छ तर गर्न गाह्रो। तपाईंले विज्ञानलाई विश्वास गर्नैपर्छ नभए टिकट नै नकिन्नु राम्रो। भनिन्छ हवाइजहाज यातायातको सबैभन्दा सुरक्षित माध्यमहरू मध्ये एक हो। तर मैले यो लेखिरहँदा, क्यालिफोर्नियामा एउटा बी-५२ बमवर्षक विमान दुर्घटनाग्रस्त भयो, जसमा सवार सबै आठ जनाको मृत्यु भयो, र फ्रान्समा भएको दुर्घटनामा १० जनाभन्दा बढी स्काईडाइभरहरू मारिए। यस्ता कुरामा हामी समय बर्वाद नगरौं।
बादल मडारिइरहेकाे थियो र अस्ताउँदो सूर्यले आकाश रंगीन थियो। प्राय आकाश निलो छ भन्ने गरिन्छ । हाे यो निलो छ, तर यो रातो, सुन्तला, कालो, गुलाबी पनि छ। यो दुःखी, खुसी, आक्राेशित, शान्त, आदि देखिन्छ। विस्तृत विवरण नभएपछि “इत्यादि” लेख्नु नै राम्रो हुन्छ। एक अल्छी लेखकले त्यसो गर्छ। मलाई पनि त्यसैमा गन्नुस् भनेर म भन्दिन। हिउँले ढाकिएका पहाडहरूले आफ्ना टाउका मात्र देखाइरहेका थिए, शरीर बादलमुनि लुकाएका थिए। हिमालय, विश्वकै सबैभन्दा अग्लो हिमशृङ्खला। हामी तिनलाई भव्य भन्छौं, र त्यसपछि तिनीहरूमाथि क्रूर व्यवहार गर्छौं।
बादलहरू, ती चुचुराहरूमा रहेका बाक्लो हिउँ, निरन्तर बगिरहेका नदीहरूलाई हेर्दैगर्दा मनमा अनेका तर्कना आए । पानीको एउटा थोपाले पृथ्वीलाई विभिन्न आकार दिन्छ। कहिलेकाहीँ त्यो बादल बनाउँछ, कहिले पग्लिन्छ र बग्छ, र भने कहिले चट्टानहरूमा बरफको रूपमा जम्छ। यो ग्रह पानीका विभिन्न रूपहरुको संगालो हो र ती थोपाहरूले जीवनका विभिन्न रूपहरू सिर्जना गर्छन्। हामी ती रूपहरू मध्ये एक हौं, जसलाई ती थोपाहरूले धानेका छन्। तर हामी विरलै तिन्लाई श्रेय दिन्छौं। हामी सोच्छौं कि हाम्रा फोक्सो वा मुटुको कारणले जीवित छौं, तर वास्तविक सहयोगी प्रणालीहरू हामीभन्दा बाहिर छन्, जसले हामीलाई चाहिने इन्धन निरन्तर आपूर्ति गरिरहेका छन्। हामी यसको लागि सिधै पैसा मात्र तिर्दैनौं। हामी सरकारलाई मात्र कर तिर्छौं, र ति सरकार पनि हामी परिवर्तन गरिरहन्छौं। हामीले परिवर्तन गर्नुपर्ने अर्को कुरा सोच हो त्यो चाहि विरलै परिवर्तन गर्छौ। खासमा सरकारभन्दा सोच परिवर्तन गर्न गाह्रो हुन्छ।
अहिले पृथ्वीमा हाम्रो जनसंख्या ८ अर्बभन्दा बढी छ। अब मान्छेकाे कुरा गरौं विमानमा, नेपाली ह्यान्डबल खेल्ने तन्नेरी खेलाडीहरु थिए, जसमध्ये धेरैको त्यो पहिलो उडान थियो। उनीहरु ढाकाको बारेमा उत्साहित थिए। एकजनाले भन्यो, “यदि यो प्लेन खस्यो भने के होला?” अर्कोले जवाफ दियो, “तैलें थाहा नै पाउँदैनस् किनभने थाहा पाउनु अघि नै तँ चैट भइसक्छस्।” यो कस्तो कुराकानी हो भनेर उनीहरुलाइ मैले सोधिनँ। मनमनै थोरै रिसाएँ मात्रै ।
मेरो छेउमा एकजना बंगाली युवा बसेका थिए। पछाडिका एक यात्रुले उनलाई आफ्नो सिट सिधा पार्न मिल्छ कि भनेर सोधे। तर उनले आँखा तरे र भने, You can do also। म अलमलमा परें, र पछाडिको मानिस पनि अलमलिए। मैले पछि बुझें कि उनको भनाइको अर्थ के रहेछ भने म जे चाहन्छु त्यही गरिरहेको छु यदि तिमीलाई आफ्नो सिट सिधा राख्न मन छने भनेआफुले पनि त्यसै गरे हुन्छ। भाइ, तिमी युवा छौ, अलिकति नम्र हुन सिक भनेर मैले उनलाई भनिनँ , मैले आफैंलाई भनें। लेखकहरु आफैसंग धेरै कुरा गर्छन्। यदि मैले त्यो समस्या आफैं सुल्झाएको भए, त्यहाँ लेख्नका लागि कुनै कथा नै हुने थिएन। लेखकहरू स्वार्थी हुन्छन्, मानिसहरू भन्छन् तर म त्यस्तो छैन।
उनी ढाकाबाट नेपाल घुम्न आएका रहेछन, मुस्ताङ र नगरकोट घुमेछन् ।, र अंग्रेजी साहित्य पढेका रे। त्यसोभए त्यस्तो व्यक्तिले कसरी you can do also भन्न सक्छ भनेर मैले फेरी मनमनै सोधें र उत्तर दिएँ त्यो पनि मनमनै, घमण्डले सिक्नका लागि धेरै ठाउँ छोड्दैन। उनी पछाडिका मानिससंग अनाहकमा रिसाएका थिए । त्यो पनि मैले उनलाई भनिनँ।
हामी बेलुका ७:१५ बजे ढाका पुग्यौं, त्यतिबेलासम्म अँध्यारो भइसकेको थियो। ढाका कथा र जीवनले भरिएको सहर हो, तर यहाँ धेरै कथाहरू र धेरै मानिसहरू पनि छन्। काठमाडौंसमेत भीडभाडयुक्त लाग्ने मान्छेका लागि ढाका सहर हाेइन, आन्दोलन भइरहेको सडकजस्तै हो। म ढाकाका बारेमा नराम्रो कुरा गरिरहेको छैन, मेरा बंगाली साथीहरू ।तर हामीले स्विकार्नुपर्छ कि हाम्रा सहरहरू धेरै फोहोर छन्। हामी जताततै फोहोर फाल्छौं। हामीले वास्तवमै हाम्रा सहरहरू बनाएका छैनौं बरु सामूहिक छाप्राहरु बनाएका छौं। हामीले योभन्दा राम्रो गर्न सक्थ्यौं। म काठमाडौंको बारेमा पनि कुरा गरिरहेको छु।
अनअराइभल भिसाका लागि अध्यागमन डेस्कमा चारवटा कुराहरू मागे: राहदानी, आयोजकको पत्र, फर्किने टिकट, र होटल बुकिङ। मलाई पाँच मिनेटभन्दा कम समयमा छाप लगाइयो र म बाहिर निस्कें।
पुरानाे ढाकामा रकिब र म।
बंगलादेश संस्कृति, खाना र संगीतमा धनी छ। मलाई यो सबै मन पर्छ। मलाई मन नपर्ने कुरा के हो भने त्यहाँ अत्यधिक मान्छे छन्। जब म ढाका वा दिल्ली जस्ता अत्यधिक जनसङ्ख्या भएका ठाउँहरूमा जान्छु, म साँच्चिकै सोध्छु ,तपाईंहरू किन यति धेरै बच्चा जन्माउनुहुन्छ । मलाई यो नभन्नुहोस् कि पश्चिमाहरुले जनसंख्या कम भएपनि हामीलेभन्दा बढी स्रोतहरू प्रयोग गर्दछन् । मलाई त्यो थाहा छ, र असमानता वास्तविक हो र अन्यायपूर्ण छ। तपाईं रमाइलो गर्न सक्नुहुन्छ र पनि थोरै बच्चा पाउन सक्नुहुन्छ। धेरैले तर्क गर्छन् कि वास्तविक समस्या जनसङ्ख्या होइन बरु असमानता हो । जस्ताे पश्चिमका थोरै मानिसहरूले पूर्वका धेरै मानिसहरुले भन्दा बढी जमिनको क्षयीकरण गर्छन् र बढी पानी प्रयोग गर्छन्। धेरै स्रोतको प्रयोग गर्छन । ठीक छ, तपाईं सही हुनुहुन्छ। धेरै मानिसहरू र धेरै उपभोग दुवै गम्भीर समस्या हुन्। तर हामीले जनसंख्या सकेसम्म घटाएकै राम्राे । यति त स्विकार्नैपर्छ।
हाम्रो होटलका कर्मचारी विमानस्थलको गेटबाहिर मेरो नाम लिएर पर्खिरहेका थिए। मलाई अक्सफाम भन्ने संस्थाले नदी सम्बन्धी एउटा कार्यक्रमका लागि ढाकामा बाेलाएको थियो तर मैले यहाँ लेखेका शब्दहरूमा उनीहरुको कुनै लागनी छैन । तर तपाँइ पैशा तिरेर पनि मेरो Newsletter पढ्न सक्नुहुन्छ। त्यसो हो भने डी एम गर्नुस् अनि म पैशा कसरी तिर्ने बताइदिन्छु है ।
मैले नेपालबाट आएको हुँ भन्नासाथ ति कर्मचारीले हाम्रा नयाँ प्रधानमन्त्री बालेन्द्र शाह अर्थात बालेनको प्रशंसा गरे र बालेनले भारतका विदेश सचिव मिश्रीलाई भेट्न अस्वीकार गरेकोमा विशेष खुसी जनाए। बंगलादेशका नयाँ प्रधानमन्त्रीले भारतसंग त्यसो गर्न नसकेकामा उनको गुनासो थियो जुन म सुन्न मात्र सक्थे। भारत त परैको कुरा म उनको त्यो खुसाबारे मेरा आफ्नै प्रधानमन्त्रीलाई समेत सुनाउन सक्दिन किनभने उनी कसैसंग बाेल्दैनन् । मेरा केहि चिनजानका अलि परका साथीहरु मन्त्री भएका छन् कसैगरी तिनीहरुले पढेभने प्रधानमन्त्रीलाई सुनाइदिन चाहि सक्छन्। ठिकै छ त्यो खासै महत्वपुर्ण कुरा हाेइन । तर मैले भेटेका धेरैजसो बंगालीहरू भारतपको व्यवहारप्रति असन्तुष्टि व्यक्त गर्थे । पहिला पनि र अहिलेपनि । कहिलेकाहीँ मलाई लाग्छ बंगालीहरु भारतलाई नेपालीहरूले भन्दा पनि धेरै घ्रणा गर्छन । जे भए पनि, हामी सबै यसमा सहमत हुन सक्छौं कि भारतको आफ्ना छिमेकीहरूसँग राम्रो सम्बन्ध छैन।
ढाका विश्वविध्यालयकाे बस।
नयाँ बनेको फ्लाईओभर हुँदै चालकले मलाई आधा घण्टामा बनानीको लेकशोर होटलमा पुर्याए। फ्लाईओभरले ढाकाको भयानक ट्राफिकबाट बचायो। मैले उनलाई सोधें, “के नयाँ सरकार पुरानो भन्दा राम्रो छ”। उनले मुस्कुराउँदै भने, “उस्तै-उस्तै। "
अस्तव्यस्तता ढाकाको अर्को नाम हो। यदि तपाईं त्यसकाे आनन्द लिनु मन पराउनुहुन्छ भने,त्याे अद्भुत छ। ढाकामा २ करोडभन्दा बढी मानिस छन् जुन नेपालको कुल जनसङ्ख्याको झण्डै दुई तिहाइ हाे। चालकले पनि बालेनले भारतका सचिवलाई भेट्न अस्वीकार गरेको प्रसंग उठाए। बंगलादेशमा त्यो समाचार भाइरल भएको रहेछ । इमानदारीपूर्वक भन्नुपर्दा, विदेशमा आफ्नो देश र नेताहरूको बारेमा राम्रा कुराहरू सुन्न पाउँदा राम्रो लाग्याे। तर हाम्रा लागि त्याेभन्दा अरु धेरै महत्वुपुर्ण कुराहरु छन्। बंगालीका लागि चाहि मिश्री नै सबैभन्दा ठुलाे समस्या लागेकाे रहेछ। हाम्राे देशमा एकजना युवा सत्तामा आएका छन् तर मलाई लाग्छ घमण्ड हाम्रो कान्छो प्रधानमन्त्रीका लागि सबैभन्दा ठूलो जोखिम हो। तपाईं राम्राे नेता हुन सक्नुहुन्छ र पनि तपाईंमा अलिकति न्यूयाेर्कका मेयर ममदानीको केहि अंश राख्न पनि सक्नुहुन्छ। तर त्यसो भन्दापनि सरकारको विरोध गरिस् भनेर भन्न सक्छन्। यहाँ अहिले उनका बारेमा राम्रोमात्रै गर्नुपर्छ नत्र त सामाजिक संजालमा खाउँला जस्तो पो गर्छन त, उनका समर्थकहरु ।
मलाई थाहा छ भारतसँग हाम्रा धेरै मतभेदहरू छन्, र भारतले सधैं आफ्ना छिमेकीहरूलाई सुक्ष्म व्यवस्थापन गर्ने गरेकाे छ। बेलाबेला दुख पनि दिन्छ। तर छिमेकीहरूले पनि भारतबाट आफ्नो हिस्साको फाइदा उठाएका छन् । भारतले यस क्षेत्रको बारेमा बढी व्यावहारिक रूपमा सोचेको भए हुन्थ्यो ताकि हामी सबै सँगै मिले समृद्ध हुन सक्थ्याै। तर मैले सोच्ने तरिका र नेताहरूले सोच्ने तरिका मिल्दैनन्। यसलाई यहीँ पार्क गरौं।
०००
ढाका मैले सोचे जस्तो तातो थिएन, किनकि प्रि मनसुन वर्षाले यसलाई अलिकति चिसो बनाउन मद्दत गरेकाे थियो । अहिले त मनसुन नै आइसक्यो। ढाकामा यो मेरो तेस्रो यात्रा थियो, र अनुभवका आधारमा म भन्न सक्छु कि यहाँ समय भनेको एउटा अंक मात्रै हो। सबैजना हतार गरिरहेका छन्, तर कोही पनि समयमै कतै पुग्दैनन्। लन्च खाऔं भनेर कुनै साथीलाइ भन्नुस् उस्ले भन्नेछ, किन लन्च मात्र भोली ब्रेकफास्टबाट सुरु गरौंला, हुँदैन ? तर भाेली पल्ट उ लन्च त के डिनरका लागि पनि उपस्थित नहुन सक्छ। म सामान्यीकरण गरिरहेको छैन, तर अधिक वाचा गर्नु याे भेगका एउटा रोग नै हो, र बंगालीहरू यसमा निकै माहिर छन् । नेपालीहरू भन्दा बढी, म त्यति त भन्न सक्छु। तथापि, नेपालीहरु पनि यस मामलामा तगडै छन्।यसपटक मेरा एक मित्रले त्यसै गरे। त्यस्तो पहिला पनि भएकाे छ। कार्यक्रम ८ बजे भन्याेभने १० बजे बल्ल शुरु हुन्छ।
यस पटक एकजनाले धाेका दिएपनि अर्का मेरा सहकर्मी राकिब भने हामीले तय गरेको समयभन्दा आधा घण्टा अगाडि नै आइपुगे, जुन यति असामान्य थियो कि मलाई लाग्यो नयाँ क्रान्तिसँगै ढाका परिवर्तन भएछ। तर अर्का पुराना सहकर्मी, जसले म ओर्लिनु अघि नै रमाइलो गर्नुपर्छ भनेर बारम्बार वाचा गरेका थिए, तीन दिनसम्म पनि देखा परेनन्। मैले राकिबलाई पनि सोधें, “ के नयाँ सरकार पुरानो भन्दा राम्रो छ?”
मलाई त्यस्तो लाग्दैन,” उनले भने।
उस्तै भ्रष्टाचार, काम गर्ने उस्तै पारा। हामी हाम्रा विद्यार्थी नेताहरू सत्तामा आएकाे हेर्न चाहन्छौं। एक दिन उनीहरूले नियन्त्रण लिनेछन्। मैले मनमनै भनें “थप एक क्रान्ति तर कृपया कुनै आगजनी नहोस्। ”
मेराे साथी रकिब र म, पुरानाे ढाकामा।
तर मलाई विश्वास गर्नुहोस्, बंगालीहरूले साथीको रूपमा तपाईंलाई आफ्नो मनमुटु दिन्छन्। राकिबले मलाई पुरानो ढाका सहर लिएर गए र ढाका विश्वविद्यालयमा आफ्नो पुरानो कक्षाकोठा देखाए। हामीले लेकशोर हाेटलबाट शहबागसम्म सीएनजी अटाे लियौं, त्यसपछि रिक्सा। मलाई सधैं रिक्सा चढ्दा नराम्रो लाग्छ । एक जना मानिसले अन्य दुई जनालाई तानिरहेको हेर्दा त्यो कडा परिश्रम गर्ने मान्छेको माया लाग्छ। तर फेरि म सोच्छु, कम्तीमा यसले उसलाई गाँस र बास त दिन्छ।
मैले शहबागमा बंगलादेशको जेन जी आन्दोलनको केहि अवशेष हेर्न पाएँ। पुरानो शहीद स्मारक, र विद्रोह गर्ने मानिसहरूको आशा र सपनाहरूको झलक दिने चित्रहरु पनि देखें। तर भर्खरै भएकाे विद्रोहले नयाँ आशा दिनुकाे साटो मानिसहरु फेरी निराश हुन थालेको पनि पाएँ। यो क्षेत्रको दु:ख नै त्यहि हो । एउटा परिवर्तनले पुगेकै छैन। बारम्बार परिवर्तन भएपनि जनताको जिवनस्तर भने खासै फेरिएको छैन ।
हामी चर्चित हनिफ बिर्यानी खान गयौं । पुरानो ढाकामा। खचाखच थियो। केहिबेर लाइन बसेपछि बस्ने ठाउँ पायौं बिर्यानी मिठो नै थियो तर हेर्दा भने पुलाउ जस्तो देखिन्थ्यो। यसलाई कुन कुराले यति लोकप्रिय बनायो थाहा भएन, तर यो नयाँ सरकारभन्दा बढी लोकप्रिय रेहछ, यो पक्का हो। मेरो लागि, यसले एउटा सन्देश दियो। एउटै कुरामा ध्यान केन्द्रित गर्नुहोस्, र तपाईंले त्यसबाट उत्तम नतिजा पाउनुहुनेछ। हनिफ बिर्यानीले एउटा परिकार मात्र पस्कन्छ, मटन बिर्यानी, र केवल मटन बिर्यानी।
पुरानाे ढाकामा चर्चित हनिफ बिर्यानी
हामी विश्वविद्यालय क्षेत्रमा फर्कियौं र प्रथाेमा पुस्तक पसलमा छिर्यौं। मैले चारवटा किताब किनें। देशको सबैभन्दा ठूलो अखबार प्रथाेमाले चलाएको पसल भने खासै आकर्षक थिएन। मैले यस्तो ठाउँको अपेक्षा गरेको थिएँ जहाँ तपाँइ घण्टौंसम्म किताबहरु वरिपरी टहल्न पाउनुहुन्छ। मैले टैगोरको गीताञ्जली, काफ्काको मेटामोर्फोसिस, मार्क्सको कम्युनिष्ट म्यानीफेस्टाे, र मिल्टनको प्याराडाइज लस्ट किनें। चारवटा पुस्तकको कुल १,४०० टाका भयो। काउन्टरमा हामीलाई एउटा मात्र पुस्तकको, करिब ३०० टाकाको रसिद दिइयाे । बाँकी स्पष्ट रूपमा करछली। यस्ता साना कुराहरू थपिँदै जाँदा देश असफल हुन थाल्छ। स साना कुरा हुन् तर त्यहि त पछि ठुलाे हुने हो ।
तर, ठूलो समस्या त के थियो भने राकिबले मलाई तीमध्ये कुनैको पनि पैसा तिर्न दिएनन्। जब तिमी ढाकामाहुन्छौ तिमीलाई खुसी राख्नु मेरो जिम्मेवारी हो, पैशा तिर्न पाइँदैन भनेर उनले अडान नै लिए । मैले प्रयास गरें तर असफल भएँ। मैले रिक्सा चालकलाई थप ५० टाका मात्र टिप्सका रुपमा दिएँ। मेराे कुल खर्च त्याे दिन त्यति नै।
प्रथाेमा पुस्तक पसल।
ठिकै छ, मेरो साथी। काठमाडौं आउँदा म तिम्रालागि केही गर्नेछु। मैले खासै धेरै गर्नुपर्दैन। म डाँडातिर लैजानेछु, दुईवटा बियर किन्नेछु, र तिमीलाई हिमाल देखाउनेछु। बियर मेरो तर्फबाट, हिमालहरूले बाँकी काम गर्नेछन्। मैले जिस्क्याएँ।
अन्तिम दिन म , म लुगाहरू खोज्नका लागि मात्र होटलबाट बाहिर निस्किएँ — बंगलादेशको अर्को नाम कपडादेश राखेपनि हुन्छ। मैले गुलशनमा बिग बाेस नाम गरेकाे एउटा ठूलो पसल भेट्टाएँ र धेरै लुगाहरू किनें । मलाई भोक लाग्यो र त्यहाँका म्यानेजरसंग बंगाली खाना पाइने राम्रो ठाउँको बारेमा सोधें। पानी परिरहेको थियो उनले त एकजना सहायकलाई छाता ओढाएर मलाई रेस्टुरेन्टसम्म पुर्याउन पठाए । नाम रहेछ सुल्तान बिर्यानी । आउनुहोस् ढाकाको नाम नै परिवर्तन गरिदिऊँ र कपडापछि बिर्यानीदेश राखाैं। नेपालमा मःमः जस्तै, ढाकामा बिर्यानी मुख्य खाना रहेछ कि क्या हाे। खाना यति धेरै थियो कि मैले आधा भाग बेलुकाको खानाका लागि प्याक गर्नुपर्यो।
मैले केहि तन्ना किन्न चाहेकाे थिएँ । खाना खाएर फर्केपछि मैले म्यानेजरलाइ साेधें उनले त फेरी अर्को १० मिनेट छाता ओढेर मलाई एउटा यस्तो पसल देखाउन गए जुन मैले भनेकै थिइनँ। बढाे मेजमानी पाे गरे । खासै धेरै खर्च गरेकाे त हाेइन । बनानी फर्कने रिक्साको ५० टाका लाग्यो। रिक्सा चालक एक वृद्ध मानिस थिए, त्यसैले मैले उनलाई १०० दिएँ तर खुद्रा फिर्ता मागिनँ। उनले मलाई एउटा मिठाे मुस्कान दिए । त्यस्ताे मिठाे मुस्कान निकै सस्तोमा पाएँ भनेर मनमनै भनें । तपाईंले मात्र यो थाहा पाउनु पर्छ कि कोसँग मोलतोल गर्ने र काेसंग नगर्ने।
यस पटक मैले ढाका धेरै देखिनँ। यस्तो सहरको व्याख्या गर्नका लागि केही दिन पर्याप्त हुँदैन, तर यो मेरो पहिलो भ्रमण थिएन, र मलाई लाग्छ कि मैले केहि न केहि जानेकाे छु । यति धेरै आशा छ यहाँ । यति धेरै कडा परिश्रम गर्छन यहाँका मान्छे । यति धेरै गरिबी। यति धेरै पीडा। बंगालीहरू राम्रा दिनहरूको लागि व्यग्रताका साथ पर्खिरहेका छन्, तर सरकारहरूले त्यसरी सोच्दैनन् सायद ।तिनीहरू कसरी जित्ने र जितिरहने भन्ने बारेमा सोच्छन्। आशा छ यो सरकारले अघिल्लो सरकारले जस्तै गर्ने छैन र फेरी अर्काे आन्दाेलनकाे भार उनीहरुले बाेक्नुपर्ने छैन ।
पुरानाे ढाकामा एकजना रिक्सा चालक ।
मैले यो लेखिरहँदा, मैले साम डेलरिम्पलको Substack मा एउटा पोस्ट पढेँ। “ कुनै समय, बंगाल पृथ्वीकै सबैभन्दा धनी ठाउँ थियो। सन् १७००काे सुरुतिर, यसले विश्वव्यापी जीडीपीको झण्डै ५ प्रतिशत हिस्सा ओगटेको थियो, र यसको राजधानी मुर्शिदाबादसँग बेलायती कुलीन वर्गको संयुक्त सम्पत्तिभन्दा बढी सम्पत्ति थियो।” त्यसपछिका तीन शताब्दीहरूमा, यो सबैभन्दा धनीबाट सबैभन्दा गरिब मध्ये एकमा परिणत भएको छ।
के ढाकाका ति पुराना दिनहरू फर्केलान ? मलाई थाहा छैन। तर ति फर्किए भने, म पक्का छु कि काठमाडौंले पनि अलिकति फाइदा पाउनेछ। अर्को पटकसम्मका लागि, धन्यवाद, ढाका।
मेरो अर्को न्यूजलेटर काठमाडौं नजिकैको जंगलबाट हुनेछ, जहाँ मैले एक हप्ता कि त लेखेर कि त कोठा बाहिर जंगलको पर्खाल हेरेर बिताएँ। त्याे त्यस्ताे ठाउँ थियाे जहाँ म प्रकृतिमा नाङ्गै उभिन सक्थेँ, र मलाई देख्ने केवल रुख वा चराहरू मात्र थिए।










Very smooth write-up, enjoyed reading it.