सुँइखुट्टे भस्मासुरको कथा
अरू प्रजातिले हाम्रो नाम राख्न सक्ने भए के राख्थे होला भनेर म कहिलेकाहीँ सोच्छु। मलाई लाग्छ, अरू प्रजातिले मान्छेको नाम राख्न सक्नेभए 'सुइँखुट्टे भस्मासुर' राख्थेहाेला।
दाेलखाकाे जिरीमा रहेकाे गुराँस पार्क र पाेखरी। फाेटाे : रमेश भुसाल ।
दाेलखाकाे जिरीमा चैतकाे अन्तिमा साता भएकाे प्रथम बागमती पर्या-साहित्य महोत्सवमा प्रमुख वक्ताको रूपमा दिएको मन्तव्य।
प्रिय साहित्य अनुरागी तथा प्रकृतिप्रेमी साथीहरु,
यो सुन्दर जिरीमा मलाई आमन्त्रण गरेर बोल्ने अवसर दिनुभएकोमा धन्यवाद। गौरीशङ्कर हिमालको दक्षिणी भिरालो भूभागमा लम्पसार परेको यो सानो तर ऐतिहासिक जिरीको सौन्दर्यका बीच मेरा शब्दहरू फिक्का लाग्न सक्छन्। म त्यसका लागि तयार नै भएर आएको छु।
अहिले समुद्री सतहबाट लगभग १९०० मिटरको उचाइमा २७ डिग्री ३८ मिनेट ३१ सेकेन्ड अक्षांश र ८६ डिग्री १३ मिनेट ४७ सेकेन्ड देशान्तरमा उभिएको एकजना व्यक्ति हुँ म। मजस्तै अहिले यो पृथ्वीमा आठ अर्ब व्यक्तिहरू छन्, जसलाई ‘होमो सेपियन्स’ भनिन्छ वा हामीले भन्ने गरेका छौँ। होमो सेपियन्सको अर्थ ‘बुद्धिमान मानिस’ भन्ने हुन्छ। आफैँले आफ्नो नाम राख्दा यति त आफूलाई भन्नैपर्यो। तर अरू प्रजातिले हाम्रो नाम राख्न सक्ने भएको भए के राख्थे होला भनेर म कहिलेकाहीँ सोच्छु। मलाई लाग्छ, अरू प्रजातिले मान्छेको नाम राख्न पाउने भए ‘सुइँखुट्टे भस्मासुर’ राख्ने थिए होला । तर दुर्भाग्यवश, यो पृथ्वीमा मान्छेबाहेक अरू कसैले कसैको नाम राख्न सक्दैन। सबैको नाम मान्छे ले नै राख्छ ।
वैज्ञानिकहरूको अनुमान अनुसार यो पृथ्वीमा झन्डै ८७ लाख जीव र वनस्पति हुन सक्छन्।आजसम्म अभिलेखीकरण गरिएका १४ लाखभन्दा बढी जीव र वनस्पतिमध्ये यो पृथ्वीको अधिकांश स्रोतको प्रयोग एक्लो मानिस नामक प्रजातिले गर्छ। बाँकीको पहिचान र अभिलेखीकरणसमेत गर्न बाँकी नै छ। डरलाग्दो कुरा त के छ भने, अभिलेखीकरण गरिएका हजारौँ प्रजाति विगतका केही दशकमा मानिसका कारण लोप भइसके र त्यो क्रम तीव्र छ।
पश्चिममा अफगानिस्तानदेखि पूर्वमा म्यानमारसम्म ३५ सय किलोमिटरमा फैlnएको संसारकै सबैभन्दा अग्लो हिन्दुकुश हिमालय पर्वत शृङ्खलाको एउटा सानो अंश यो भूभाग हो, जहाँ हामी उभिएका छौँ। यो पर्वत, जहाँ एसियाका १० ठूला नदी बग्छन्, जहाँ पृथ्वीको तेस्रो ठूलो हिउँ भण्डार छ र जहाँको नदी बेसिनको क्षेत्रफल मात्रै ३५ लाख वर्ग किलोमिटर छ, झन्डै दुई अर्ब मानिसको पानीको स्रोत यही हो। जहाँ म उभिएको छु, यहाँको पानी गङ्गा नदीको हिस्सा बन्छ। पूर्वमा ब्रह्मपुत्र, इरावड्डी, सालविन र मेकोङ नदी बग्छन्। पश्चिममा सिन्धु (इन्डस) नदी छ, जो अरब सागर छुन पुग्छ। अझ पश्चिममा अमु दरिया छ, जो पामिर हिमालबाट मध्य एसियाको सुक्खा भूभाग भएर बग्छ। उत्तरमा तारिम नदी र तिब्बती पठारको उत्तर-पूर्वमा यलो र याङ्त्से नदीहरू बग्छन्। तिनैलाई बाँडफाँड गरेर अहिले भारत, चीन, नेपाल, थाइल्यान्ड, पाकिस्तानलगायतका दर्जनौँ देश र हामी बासिन्दा बनेका छौँ।
पृथ्वीको उमेर साढे चार अर्ब वर्षको छ। हाम्रो पूरा आयुलाई सय वर्ष आसपास मान्ने हो भने पनि पृथ्वी हामीभन्दा झन्डै साढे चार करोड गुणा जेठो छ। मानिस भन्ने प्रजातिले यो पृथ्वीमा बिताएको पूरै समय हिसाब गर्दा पनि समग्र पृथ्वीको उमेरको जम्मा ०.०००७ प्रतिशत मात्र हुन आउँछ। यो अति लामो समयलाई बुझ्न लेखक डेभिड क्रिस्चियनले निकै रोचक तरिका निकालेका छन्। उनले ब्रह्माण्डको १३.८ अर्ब वर्षको इतिहासलाई १३ वर्ष ८ महिनाको एउटा काल्पनिक समयरेखामा ढालेका छन्। यो हिसाबले हेर्ने हो भने, सूर्य र सौर्य प्रणाली बनेको जम्मा ४ वर्ष ६ महिना मात्र भयो। ६० करोड वर्षअघि ठूला जीवको उत्पत्ति भएको समयलाई मानिसको समयरेखामा झार्दा त्यो जम्मा सात महिनाअघिको कुरा हो। साढे ६ करोड वर्षअघि डाइनोसरको लोप भएको घटना त यो पात्रोमा जम्मा २४ दिनअघिको मात्र हो।
अब मानिसको कुरा गरौँ, चिम्पान्जीबाट मानिसको हाँगो छुट्टिएको जम्मा साढे दुई दिन मात्र भयो। होमो सेपियन्स अर्थात् हामी जस्तो देखिने मानिसको उत्पत्ति त यो समयको तराजुमा जम्मा १०० मिनेटअघि मात्र भएको हो। अनि हाम्रो मानव सभ्यता र सहरहरूको इतिहास जम्मा साढे दुई मिनेटअघिको कुरा हो। तर यो सारा वातावरणीय विनाश र जलवायु परिवर्तनको उत्पात त जम्मा ६ सेकेन्ड अर्थात् पछिल्लो दुई सय वर्षको खेल हो। कल्पना गर्नुस्, साढे चार अर्ब वर्षको पृथ्वीको इतिहासमा अन्तिम ६ सेकेन्डमा एउटा प्रजातिले यो ग्रहको अरबौँ वर्षको सन्तुलनलाई भताभुङ्ग पारिदिएको छ। यो ६ सेकेन्डमा मानिसले जे गऱ्यो, त्यो केही हदसम्म स्याबास भन्नुपर्ने उपलब्धि त हो तर उत्तिकै चिन्ता गर्नुपर्ने विषय पनि हो। होमो सेपियन्स ८७ लाख जीवजन्तु र वनस्पति प्रजातिमध्येको एक प्रजाति हो। यही प्रजातिले हिजो पनि होइन, आज बिहान झिसमिसेमा पनि होइन, अघि भर्खरै वा केही मिनेट वा सेकेन्डअघि गरेको क्रियाकलापले उसको भाषामा विकसित भएको र अरू प्रजातिको भाषामा सिध्याएको पृथ्वीको कथा सामान्य छैन। उसले गरेको विकासको कथा पनि सामान्य छैन र उसले गरेको विनाशको कथा पनि सामान्य छैन।
मान्छे यो स्वरूपमा आएको धेरै भएको छैन। मानिस बुद्धिमा मात्रै होइन, शारीरिक हिसाबले पनि अरूभन्दा भिन्न बन्यो। मान्छेलाई खासमा कुन अङ्गले अरूभन्दा फरक प्रजाति बनायो होला? वा शरीरको कुन अङ्ग सबैभन्दा महत्त्वपूर्ण छ मान्छे बन्नका लागि भन्ने प्रश्नको रोचक उत्तर मैले केही वर्षअघि पढेको एउटा किताबले दिएको थियो। लेखक कोलिन टजले आफ्नो किताब ‘द ट्री’ मा लेखेका छन्— “हामी अरू प्रजातिभन्दा भिन्न हुनुको एउटा मुख्य कारण हाम्रा हातहरू हुन्। फुक्काफाल छाड्न सकिने बलिया हातले हामीलाई मान्छे बनाएका हुन्।” ती डाङ्ग्रेसँग हात छैन, तर पखेटा छन्। कुकुरसँग खुट्टारूपी हात छन्, जुन उसले उभिन मात्र पनि हरहमेशा प्रयोग गरिरहनुपर्छ। गाईगोरु, बाघ वा गैँडासँग पनि त्यस्तै छ। चराले पनि उड्नका लागि पखेटा फिँजार्र्नैपर्छ। बाघले पनि चार हातखुट्टा टेकेरै हिँड्नुपर्छ। मान्छे भने फुक्काफाल हात हल्लाउँदै हिड्न सक्छ।
खासमा हाम्रा यी हातहरूलाई फुक्काफाल छाड्न सकिने बनाएको चाहिँ रूखहरूले हो। टजका अनुसार, हाम्रा पुर्खाले जमिनमा झर्नुअघि कम्तीमा आठ करोड वर्ष रूखहरूमा बिताएका थिए। रूखमा झुन्डिएर ‘चचहुई’ गर्दागर्दै हामीले हातलाई फुक्काफाल पार्न सक्यौँ। हात्ती र सुँगुर पनि चलाख छन्, दिमाग तिनीहरूको पनि छ, तर फुक्काफाल हात छैनन्। लोखर्के तीक्ष्ण भए, बाँदरले पनि जमिन छुन खोजे, तर ती रूखमै अड्किए। मान्छेका पुर्खा भने अलि अघि निस्किए र रूख छाडेर जमिनमा झरेपछि हातलाई फुर्सदिलो बनाए, खुट्टालाई व्यस्त गराए। यदि हाम्रा हात फुक्काफाल हुँदैनथे भने हामी पनि डल्फिन र हात्ती जस्तै तीक्ष्ण तर निराश प्राणी भएर बाँच्न बाध्य हुन्थ्यौँ भन्ने टजको भनाइ छ। फुर्सदिला हात बनाएपछि सेपियन्सले बलिया पाखुरा र चलायमान औँला घुमाएर आज पृथ्वीमा राज गरिरहेको छ। तिनै हात र दिमागको सहाराले बनाएको गाडी चढेर म जिरी आइपुगेको छु। यी हातहरूले खराब मात्रै गरेनन्, कमाल पनि गरे। मान्छेलाई उड्न सक्ने बनाए, गुड्न सक्ने बनाए। विज्ञानको चमत्कारले आज हामी सजिलै पृथ्वी चाहार्छौँ, जहाँ पनि तुरुन्तै बोल्न सक्छौँ। हामीलाई सजिलो त बनायो प्रविधि र विकासले, तर अरू प्रजातिलाई भने निमिट्यान्नै पार्यो।
हामी हजारौँ वर्ष आफ्ना पाखुराको बलले बाँचेका थियौँ। हामी देख्थ्यौँ तर के हो थाहा पाउँदैनथ्यौँ। हामी पानी देख्थ्यौँ तर त्यसमा दुईवटा हाइड्रोजन र एउटा अक्सिजन मिलेर बसेका हुन्छन् भन्ने थाहा थिएन। रूख हरियो देख्थ्यौँ तर त्यसको कारण क्लोरोफिल हो भन्ने ज्ञान थिएन। आज मान्छेले माटो, ढुङ्गा, रूखपात, पृथ्वी, चन्द्रमा सबै बुझ्ने भएको छ। सबै कुरा खुट्याउन सक्छ र त्यसभित्र भएका कुराहरू प्रयोग गरेर सामान बनाउन जान्ने भएको छ। आज मान्छेले पृथ्वीका हरेक कुरा बेच्छ।
१६ औँ शताब्दीअघिसम्म मानिस ‘पृथ्वी गोलो छ’ भन्नेसम्म पनि विश्वस्त थिएन। लिनियसले नाम राखिदिएको चार दशकपछि वैज्ञानिक तथा अन्वेषक अलेक्जेन्डर भोन हमबोल्टले सन् १८०२ मा दक्षिण अमेरिकी देश इक्वेडरमा रहेको एन्डिस हिमशृङ्खलाको लगभग एक्काइस हजार फिट अग्लो चिम्बोराजो हिमालको चुचुरोमा टेके। पृथ्वीका सबै चुचुराको नाप नभइसकेको त्यो समयमा चिम्बोराजो विश्वकै अग्लो चुचुरो मानिन्थ्यो। सगरमाथा पृथ्वीको सबैभन्दा अग्लो चुचुरो त हो, तर समुद्री सतहबाट नाप्दा मात्रै। चिम्बोराजो अहिले पनि पृथ्वीको केन्द्रविन्दुबाट मापन गर्ने हो भने सबैभन्दा उच्च विन्दु हो। त्यो उचाइबाट पृथ्वी हेर्ने हमबोल्ट पहिलो मानिस थिए, कम्तीमा लिखित इतिहासमा।
हमबोल्ट कुनै कीर्तिमान कायम गर्न सो हिमाल चढेका थिएनन्। प्रकृतिबारे बुझ्न उनलाई सबैभन्दा अग्लो चुचुरोबाट पृथ्वी हेर्ने मन थियो। औद्योगिक क्रान्ति ल्याउने वाष्प इन्जिन बनेको एक शताब्दी पनि कटेको थिएन। मानिसले पृथ्वी सबै नापिसकेको थिएन, घुमिसकेको थिएन। जहाज उडिसकेको थिएन। रकेटले वायुमण्डल काटिसकेको थिएन। इन्टरनेट कल्पनामै थिएन अनि कम्प्युटरले गर्भधारण गरिसकेको थिएन। पृथ्वी हेर्ने एउटा मात्रै उपाय अग्लो हिमाल चढ्नु हुन्थ्यो। त्यसैले हमबोल्ट आफ्नै पैसा खर्च गरेर स्पेनको उपनिवेशमा रहेको दक्षिण अमेरिकी महादेश बुझ्न पाँचवर्षे अन्वेषण यात्रामा निस्केका थिए।
अठारौँ शताब्दीअघि प्राकृतिक विज्ञान भन्ने विषय नै थिएन थिएन वा वन्यजन्तु वा वनस्पति कुनै पनि विज्ञानका विधा थिएनन्। प्रकृति एउटा दर्शन थियो, विज्ञान थिएन। रसायन र भौतिक विज्ञानका अनेकन आविष्कारचाहिँ भइरहेका थिए। हमबोल्टले दर्शनको रूपमा रहेको प्रकृतिमा विज्ञानको मसला थपिदिए। जसै उनी चुचुरोमा पुगे, उनले वास्तवमै पृथ्वी निकै फरक देखे। परपरसम्म हेरेपछि उनी एउटा निष्कर्षमा पुगे— ‘यो पृथ्वीमा जलवायु, जीव, वनस्पति, जमिन, समुद्र सबै एकअर्कामा जोडिएका छन्। पृथ्वीको सगोलमा एउटा प्रकृति छ र सबै कुरा एकअर्कामा निर्भर,’ ‘इन्भेन्सन अफ नेचर’ नामक किताबमा लेखिका आन्द्रिया उल्फले लेखेकी छन्।
मानिस नहुँदो हो त यो पृथ्वी कस्तो हुँदो हो? वरिपरि आँखा घुमाउँछु। ऊ नहुँदो हो त मेरो वरिपरि देखिएको पिच गरेको सडक हुँदैनथ्यो, घर हुँदैनथे, फलामको बार हुँदैनथ्यो, इँटाको थुप्रो हुँदैनथ्यो, कपडा हुँदैनथ्यो, घडी हुँदैनथ्यो, जुत्ता हुँदैनथ्यो, औँलामा लगाएको औँठी हुँदैनथ्यो, गोजीको मोबाइल हुँदैनथ्यो, वरिपरि घुमिरहेका गाडी, मोटरसाइकल, साइकल हुँदैनथे, अगाडिको पार्क हुँदैनथ्यो, अलि पर रोपिएको खेत हुँदैनथ्यो, परको डाँडामा ठडिएको गुम्बा हुँदैनथ्यो, आकाशमा उडिरहेको जहाज हुँदैनथ्यो, त्यो बिजुलीको पोल हुँदैनथ्यो, छेउमा यत्रतत्र छरिएको प्लास्टिक हुँदैनथ्यो! मानिसले चमत्कार त गऱ्यो, तर उस्का लागि मात्रै ।
पृथ्वीको खास रङ नीलो हो, तर आज यो हल्का रातो भइसकेको छ। वैज्ञानिकहरू तातोलाई रातो रङले चिनाउँछन्। सन् १८५०–१९०० को दाँजोमा पृथ्वीको तापक्रम औसतमा १.१ डिग्रीले बढिसकेको छ। यही गतिमा अगाडि बढ्ने हो भने अबको २० वर्षमा १.५ डिग्री र शताब्दीको अन्त्यसम्म ३ डिग्रीले बढ्नेछ। सन् २०२४ विश्वकै सबैभन्दा तातो वर्षका रूपमा पुष्टि भइसकेको छ। यो रातो कथा जम्मा तीन सय वर्षमा बुनिएको हो। कोइला र पेट्रोलियमको बढ्दो प्रयोगले मानिसलाई आराम त दियो, तर पृथ्वीको ज्वरो निकालिदियो। बीसौँ शताब्दीको मध्यमा ५ अर्ब टन रहेको वार्षिक कार्बन उत्सर्जन अहिले ३५ अर्ब प्रति बर्ष कटिसक्यो। भारत, चीन र अमेरिकाले मात्रै कुल उत्सर्जनको आधा हिस्सा ओगट्छन्। पृथ्वी तातेपछि अब पानी झमझम मात्रै पर्दैन, झरना जसरी ‘छङछङ’ झर्छ। काठमाडौंमा १२१.५ मिलिमिटर पानी झर्दा नदी किनारका बस्ती सखाप हुनु यसकै नतिजा हो। हामीले नदी मारिरहेका छौँ, माटो मारिरहेका छौँ। अरू प्रजातिहरू मारिरहेका छौँ तर हामी मात्रै बढिरहेका छौँ र हाम्रै लागि मात्र पृथ्वीका स्रोत दोहन गरिरहेका छौँ।
नदीहरू यो पृथ्वीका रक्तनली हुन्। तर पृथ्वीका ६० प्रतिशत नदीमा हामीले बाँध बाँधिसक्यौँ। हामीले नदीलाई केवल बिजुली निकाल्ने मेसिन सम्झियौँ। जलविद्युत् आयोजनामा बनाइएका ९५ प्रतिशत ‘फिस ल्याडर’ ले काम गर्दैनन्। हाम्रो पैतालामुनिको संसार पनि ध्वस्त हुँदैछ। मानिसले वार्षिक ३५ लाख टन विषादी माटोलाई पिलाउँछ, जसले गर्दा ६० प्रतिशत माटो विषाक्त भइसकेको छ। जङ्गली जीवजन्तुको सङ्ख्या ७० प्रतिशतले घटिसक्यो। आज स्तनधारी जीवहरूको तौल जोख्ने हो भने ३६ प्रतिशत मान्छे, ६० प्रतिशत घरपालुवा जनावर र केवल ४ प्रतिशत जङ्गली जनावर बाँकी छन्। चराहरूमा ७१ प्रतिशत त केवल हामीले खाने कुखुराहरू मात्र छन्।
विश्वबाट अव देशकाे कुरा,
तीन वर्षअघि म मकवानपुरको चुच्चेखोला सामुदायिक वन समूहले संरक्षण गरेको ‘समुदाय संरक्षित विश्वकै पहिलो सालक पार्क’ हेर्न गएको थिएँ। राति मात्र बाहिर निस्कने सालकलाई देखाउन भनेर त्यहाँ स्थानीयले सालकका विभिन्न मूर्तिहरू बनाएका रहेछन् र पिकनिक स्थल पनि निर्माण गरेका रहेछन्। यस्तो लाग्थ्यो, त्यो सालकको ‘मुर्दापार्क’ हो। जताततै सिमेन्टका संरचना, सेल्फी खिच्ने ठाउँदेखि पिकनिक स्पटसम्म। हिँड्ने बेला एक स्थानीय हर्ताकर्ताले भने, ‘हामीले सङ्घीय पर्यटन मन्त्रालयबाट पन्ध्र लाख रुपैयाँ अनुदान पाउँदै छौँ। त्यो रकमले यहाँ ठूलो गेट बनाउने योजना छ। त्यो गेटका दुई पिलरमध्ये एउटा पुरुष र अर्को महिला हुन्छन्। दुवैका हातले नेपालको ठूलो नक्सा बोकेका हुन्छन्। त्यो समावेशी गेट हुनेछ।’ उनको समावेशी कल्पनाशीलताको पराकाष्ठा देखेर म चकित परेँ। सालक जोगाउने पार्कमा बीस लाखको गेट, महिला र पुरुष आकृतिका पिलर बनाएर समावेशी! यस्तो सोच कसरी वा किन आयो? त्यसको जड के हो?
यस्तै, केही वर्षअघि म कपिलवस्तुमा रहेको जगदीशपुर ताल पुगेको थिएँ। त्यहीँ वडा अध्यक्षसँग भेट भयो। केहीबेरको कुराकानीपछि चिया पिउने सल्लाह भयो। चियाको चुस्कीसँगै उनले भने, ‘यो तालको बीचमा हामी बुद्धको ठूलो मूर्ति बनाउँदै छौँ र केही डुङ्गा किनेर तालमा पर्यटनको प्रवर्द्धन गर्ने योजनामा छौँ।’ जगदीशपुर ताल चराहरूका लागि प्रख्यात छ। बीसौँ हजार चराको रोजाइको ताल हो, जगदीशपुर। यहाँ बर्सेनि साइबेरियादेखि चराहरू आइपुग्छन्। मैले उनलाई भनेँ, ‘यहाँ त हजारौँ चरा आउँछन्, किन मूर्ति बनाउने र डुङ्गा चलाउने? बरु तपाईंहरूले यहाँ आसपास चरा हेर्ने घर (Bird Watching Tower) बनाउनुस्, दूरबिन किन्नुस्, चराको सङ्ग्रहालय बनाउनुस्। देशभरिका विद्यालयबाट विद्यार्थी र पर्यटक ल्याउनुस्। पैसा पनि आउँछ, मान्छे पनि आउँछन् र चरा पनि रहन्छन्। सबैलाई फाइदा हुन्छ।’ तर उनले त्यसो गर्न नसक्ने छोटो जवाफ दिए। खासमा मूर्ति बनाउन सजिलो छ। सय बोरा सिमेन्टको साटो दुई सय बोरा हाल्न पाइन्छ। पाँच लाख खर्च गरेर दस लाख देखाउन पाइन्छ। त्यो पनि केही महिनामै तयार हुन्छ र व्यक्तिगत आम्दानी भइहाल्छ। त्यति भएपछि किन चराको चासो लिइरहनु? अहिले मुद्दा परेर त्यो योजना रोकिएको छ भन्ने सुनेको छु।
हामी पनि विहानै जिरीकै गुराँसपार्क पुगेर फर्कियाै । त्यहाँ सुन्दर पाेखरी थियाे । छेउछाउमा चिमाल गुराँस । तर त्याे पाेखरीकाे एकाभागमा एउटा सिमेन्टकाे पिलर उिभएकाे थियाे र त्यसमा महादेवकाे मुर्ति । त्याे पाेखरीकाे पिलरमा महादेश खुसी छन् कि दुखी थाहा भएन तर त्याे पानी छेउछाउका रुख नै महादेवका लागि पर्याप्त थियाे तर किन हाे तपाँइहरुले उनलाई पिलरमा बसाउँनुभयाे । त्यसले हामीलाई गिज्याइरहेकाे थियाे ।
आज हाम्रो देशलाई जलवायुभन्दा पनि माथिबाट ‘भ्रष्टवायु’ ले छोपेको छ। विकासको नाममा व्यक्तिगत लाभ खोज्ने र कमिसनका लागि अनावश्यक कङ्क्रिटका संरचना खडा गर्ने प्रवृत्ति बढेको छ। सालक जोगाउने सामुदायिक वनमा सालकको बासस्थान सुधार्नुको सट्टा सिमेन्टका ठूला गेट र मूर्ति बनाउने होडबाजी छ। जगदीशपुर ताल जस्तो चरा आउने ठाउँमा दूरबिन होइन, तालको बीचमा सिमेन्टका मूर्ति बनाउने योजना बुनिन्छ। ठाउँठाउँमा मिनी ग्रेटवाल बनाउने सपना छ। हामी जथाभाबी दोहनको बाटो रोज्ने कि प्रकृतिसँग सन्तुलन मिलाएर टिकाउ विकास गर्ने? हिमालको हिउँ रहेमात्र हाम्रो अस्तित्व रहनेछ, नदीको बहाव रहेमात्र हाम्रो सभ्यता बाँच्नेछ। हामीले आज जे गर्छौँ, त्यसैले हाम्रो भविष्यको पुस्ताको भाग्य निर्धारण गर्नेछ। विज्ञानले जतिसुकै चमत्कार गरे पनि प्रकृति दाहिना भएन भने हाम्रो अस्तित्व सङ्कटमा पर्नेछ। त्यसैले, यो पृथ्वीलाई नीलै रहन दिऊँ, यसलाई चिसै रहन दिऊँ। किनकि पृथ्वी नीलै राखेको ठीक, चिसै राखेको ठीक!



