हरेक तीन सेकेन्डमा एउटा चराकाे करेन्ट लागेर मृत्यु हुन्छ— एक जोडी दूरबिन लिनुहोस् र आकाशतिर हेर्नुहोस्
सबैभन्दा राम्रो कुरा भनेको एउटा दूरबिन लिएर बाहिर निस्कनु हो। आजको सबैभन्दा ठूलो चुनौती भनेको युवाहरूलाई उनीहरूको फोनबाट टाढा राखेर प्रकृतिमा लैजानु हो।
डा. मुनिर भिरानी प्रसिद्ध संरक्षण वैज्ञानिक हुन्, वन्यजन्तुबारे फिल्म बनाउँछन र फाेटाेग्राफर पनि हुन्, जसले आफ्नो जीवन सिकारी चराहरू (बर्ड्स अफ प्रे) को संरक्षणमा समर्पित गरेका छन्। केन्यामा जन्मेका र दुबइमा बसोबास गर्दै आएका उनी हाल ‘मोहम्मद बिन जायद र्याप्टर कन्जर्भेसन फण्ड’का मुख्य कार्यकारी (Chief Executive) का रूपमा कार्यरत छन्। आफ्नो करियरको सुरुवाती चरणमा, डा. भिरानीले सन् २००० को दशकको सुरुतिर दक्षिण एसियामा गिद्धको सङ्ख्या निकै घट्नुकाे कारण पत्ता लगाउने टालीकाे सदस्य भएर काम गरेका थिए । उनी ह्विटली अवार्ड (Whitley Award) विजेता र टेड (TED) टल्क वक्ता पनि हुन् । हाम्रो भेट असारमा काठमाडौँमा आयोजित ‘कन्जर्भेसन बायोलोजी एसिया’ सम्मेलनमा भएको थियो र कथावाचन (स्टोरीटेलिङ) प्रतिको हाम्रो साझा लगावका कारण हामी तुरुन्तै निकट भयाैं ।
आजकल, म ‘स्लो जर्नलिज्म’ (Slow Journalism) को अभ्यास गरिरहेकाले हतारमा सामाग्री प्रकाशन गर्दिनँ। मैले स्लो जर्नलिज्मका बारेमा पहिलोपटक पल सालोपेक ( Paul Salopek) बाट सुनेको थिएँ जो पुलित्जर-विजेता पत्रकार हुन् र विगत एक दशकभन्दा बढी समयदेखि विश्वभरी पैदल यात्रा गरिरहेका छन्।
रमेश: “बर्ड्स अफ प्रे” (सिकारी चरा) भनेकाे खासमा के हाे ?
मुनिर: यी त्यस्ता चराहरू हुन् जसका तिखा चुच्चो, बङ्गिएका पञ्जा र अगाडिपट्टि फर्किएका आँखा हुन्छन्। यी वास्तवमा आकाशका बाघ, चितुवा र सिंह हुन्। यी शिकारी हुन्। विश्वभरि पाइने लगभग १०,००० प्रजातिका चराहरूमध्ये, र्याप्टर वा सिकारी चराहरू लगभग ५% अर्थात् करिब ५६० प्रजातिहरू छन्।
अफ्रिकन फिस इगल। फोटो: मुनिर विरानी (www.munirvirani.com)
मेश: तपाईंलाई नेपालमा के कुराले ल्यायो, र त्याे कहिलेको कुरा हो?
मुनिर: यसको लामो इतिहास छ। म सायद पाँच वर्षको थिएँ होला, मेरो हजुरबुबाको बैठक कोठामा बसेर पुरानो श्यामस्वेत टिभी हेरिरहेको थिएँ। मलाई सर डेभिड एटेनबरोको आवाज सुनेको सम्झना छ; मानिसहरू हात्तीमा बसेर बाघको रेडियो-ट्र्याकिङ गरिरहेका थिए र पृष्ठभूमिमा हिमालहरू देखिन्थे। त्यतिबेलै मैले आफूलाई भनेको थिएँ कि एक दिन म नेपाल पुग्नेछु।
मैले सन् १९९९ मा विद्यावारिधि (पीएचडी) को अध्ययन पूरा गरेँ र सन् २००० को सुरुतिर विवाह गरेँ। मेरो विवाह भएको ठीक दुई हप्तापछि, मेरो हाकिमले मलाई फोन गरे। मेरो काम ‘द पेरेग्रिन फण्ड’का लागि अफ्रिका अनुसन्धान वैज्ञानिक हुनुपर्ने थियो, तर मेरा हाकिमले सोधे, “हे मुनिर, भारत जान्छाै? पेरेग्रिन फण्डले खेल्न सक्ने कुनै भूमिका छ कि छैन भनेर हेर्ने काम गर्छाै?” भनेर साेधे । मैले हुन्छ भनें ।
त्यतिबेला दक्षिण एसियामा गिद्धको सङ्ख्या ९५ प्रतिशतले घटेको थियो। पेरेग्रिन फ्याल्कोन (शाही बाज) को संरक्षणमा पेरेग्रिन फण्ड संलग्न भएकाले, US Fish and Wildlife Service ले यो समस्या बुझ्न र समाधान गर्न हाम्रो संलग्नता महत्त्वपूर्ण हुने ठानेको रहेछ ।
म परिस्थितिको मूल्याङ्कन गर्न पहिले भारत गएँ। त्यतिबेलासम्म गिद्ध लाेप हुने अवस्थामा थिए । पाँच वर्षको छँदा त्यो वृत्तचित्र हेरेकाले मैले भारत आएका बेला नेपाल जाने अवसर देखेँ। म पश्चिम बङ्गालबाट सडक मार्ग हुँदै यात्रा गरेर सीमा नाकाबाट १६ घण्टाको बस यात्रा गरी काठमाडौँ आएकाे थिएँ । मेरो काम नेपालमा साझेदारहरू खोजेर गिद्धहरुकाे मृत्युको कारण बुझ्नका लागि अध्ययनहरुकाे काम स्थापना गर्नु थियो।
रमेश: तपाईंको टोलीले गिद्धहरू किन मरिरहेका छन् भन्ने पत्ता लगायो। त्यो प्रक्रिया कस्तो थियो?
मुनिर: पहिलो कुरा, यो पेरेग्रिन फण्ड संलग्न भएको पूर्ण टोली प्रयास थियो, र म योगदान गर्न पाउँदा खुसी थिएँ। मेरो काम तथ्य सङ्कलन गर्ने मिसन स्थापना गर्ने र संयाेजन गर्ने थियो।
तीन प्रजातिहरू—डंगर गिद्ध (Oriental white-rumped), सानो खैरो गिद्ध (Indian long-billed), र लामो चुच्चे गिद्ध (slender-billed) काे संख्या ९५% ले घटेकाे थियाे, यद्यपि तराईतिर अझै केही बाँकी थिए। कारण बुझ्नका लागि, हामीलाई याे भेगका देश र संयुक्त राज्य अमेरिकाका प्रयोगशालाहरूमा पठाउन तरल नाइट्रोजनमा भण्डारण गरिएका fresh tissue का नमुनाहरू चाहिएको थियो। हामीले वासिङ्टन स्टेट युनिभर्सिटीका प्रसिद्द virologist डा. लिन्ड्से ओक्ससँग काम गर्यौँ, जसको पछि दुःखद निधन भयो।
बेलबारी, मोरङको बेतना सिमसारमा उद्धार गरिएको एक हिमालयन गिद्ध। फोटो: रमेश भुसाल
रमेश: यी देशहरूबाट आनुवंशिक सामग्री (जेनेटिक मेटेरियल) बाहिर लगेर अनुसन्धान गर्न पक्कै पनि गाह्रो थियो होला, होइन ?
मुनिर: त्याे धेरै गाह्रो काम थियो। त्यसैले हामीले याे अध्ययनमा पाकिस्तान थप्याैं। भारत र नेपालमा डीएनए सामग्री निर्यात गर्न धेरै कडा कानुनहरू छन्, त्यसैले मलाई थाहा थियो कि यहाँबाट त्यसाे गर्न निकै सकस हुन्छ। हामीले पहिला नेपाल र भारतमा कार्यक्रमहरू सुरु गर्यौँ; नेपालमा, हामीले कोशी टप्पु वन्यजन्तु आरक्षमा बर्ड कन्जर्भेसन नेपालसँग काम गर्यौँ, जहाँ हामीले सहयोग गरेका एक विद्यार्थीले सन् २००० देखि २००२ सम्म गिद्दका गुँडहरूको अनुगमन गरे ।
हामी पाकिस्तानमा भने डीएनए सामग्री निर्यात गर्न अनुमती पायाैं । त्यहाँ हामीले‘अर्निथोलोजिकल सोसाइटी अफ पाकिस्तान’ सँग साझेदारी गर्यौँ। नेपालमा र भारतमा धेरै गिद्द नभेटिएपनि पाकिस्तानमा धेरै गिद्ध बाँकि थिए, जुन आश्चर्यजनक थियो । तर हामीले त्यहाँ धेरै मरेका गिद्द पनि भेट्टाइरहेका थियौँ। हाम्रा विद्यार्थीहरूले देशभरिका १,८०० गुँडहरूको अनुगमन गरिरहेका थिए। एनसीसीडब्ल्यू (पाकिस्तानको वन्यजन्तु नियामक निकाय) ले हामीलाई टिस्यूका नमुनाहरु अमेरिका निर्यात गर्ने अनुमति दियो।
रमेश: तपाईंहरूले के पत्ता लगाउनुभयो?
मुनिर: हामीले तिनीहरूको आहार अर्थात सिनाेहरु अध्ययन गरेर गिद्धहरूमा मिर्गौला फेल हुनुको कारण के हो भनेर पत्ता लगाउन चाहन्थ्यौँ। जब मरेको चरालाई चिरिन्थ्यो, भित्री किड्नीमा यूरिक एसिडको सेतो चुन जस्तो लेपले ढाकिएकाे हुन्थ्याे। डाइक्लोफेनाक (Diclofenac) प्रस्ट रूपमा अगाडि आयो जुन पशु हरुलाई औषधीको रुपमा खुवाउने गरिन्थ्यो । लिन्ड्सलेले चारवटा नमुना परीक्षण गरे र सबै चारवटा पोजेटिभ देखिए त्यसपछि प्रष्ट भयाे। चार वर्षको कामपछि सन् २००३ मा हामीले यसको मुख्य कारण पत्ता लगायौँ। याे सामान्य कुरा थिएन।
रमेश: तपाईं हालै पोखरा जानुभयो, जसलाई नेपालमा सिकारी चराहरूको राजधानी पनि भनिन्छ। २३ वर्षपछि तपाईंले त्यहाँ के देख्नुभयो?
मुनिर: म पोखरा गएको थिएँ किनभने मेरा पूर्व विद्यार्थीमध्येका एक, डा. तुलसी सुवेदी, जो अहिले नेपालका प्रमुख र्याप्टर विशेषज्ञ हुन्, उनले पोखराबाट ४५ मिनेटको दूरीमा रहेको ठुलाखर्कमा एउटा अध्ययन गरिरहेका छन् । उत्तरबाट भारततर्फ आउने घुमन्ते सिकारी चराहरू अवलोकन गर्नका लागि यो उत्कृष्ट स्थानहरूमध्ये एक हो। त्यहाँको आकाशमा डंगर गिद्ध र सुन गिद्धहरू फर्किएको देख्दा पुरानो सम्झना ताजा भयो। छब्बीस वर्षअघि तपाईंले त्यहाँ ती चराहरू त्यहाँ देख्न सक्नुहुन्नथ्यो।
मङ्गोलियामा पोल फिक्सिङको काम: फोटो: मोहम्मद बिन जायद र्याप्टर कन्जर्भेसन फण्ड।
रमेश: तपाईंले प्रत्येक तीन सेकेन्डमा एउटा चरा करेन्ट लागेर मारिन्छ भन्नुएकाे थियाे । त्याे भनेकाे करेन्ट लागेर मात्रै वर्षमा करिब १ करोड चराहरू मर्छन्। अहिले विश्वभर चराहरूको अवस्था के छ?
मुनिर: मानिस र चराहरूको सम्बन्ध धेरै पुरानो छ । हालैको एउटा अध्ययनले मानिसहरू ३,५०० वर्षदेखि परेवासँग जोडिएको देखाएको छ। अहिले, वायु, सूर्य र जलविद्युत् जस्ता नवीकरणीय ऊर्जासहित ऊर्जाको ठूलो माग छ। बिजुली आवश्यक भए तापनि, समस्या भनेको वितरण सञ्जालहरू कसरी निर्माण गरिन्छन् भन्नेमा छ। पुराना पावर लाइनहरूमा टी-फ्रेम र इन्सुलेटरहरू भएका काठका पोलहरू प्रयोग गरिन्थ्यो, जुन लगभग १००% सुरक्षित थिए। अहिले, काठका पोलहरूलाई स्टिलको डण्डी र धातुका क्रस-आर्म्स भएका सस्ता कङ्क्रीटका पोलहरूले विस्थापित गरिँदैछ, जहाँ सबै कुरा खुला हुन्छ।
हालै TED Talk मा बाेल्दै मुनिर ।
मङ्गोलिया जस्ता ठूला घाँसे मैदानहरूमा, सिकारी चराहरू मुसा (भोल/फिल्ड माइस) जस्ता जीवहरूको शिकार गर्न बिजुलीका पोलहरूमा बस्छन्। जब तिनीहरू यी पावर लाइनहरूमा अवतरण गर्छन्, तिनीहरूले दुईवटा फेज वा एउटा फेज र अर्थिङलाई छुन्छन्, जसले गर्दा सर्किट पूरा हुन्छ र तिनीहरूलाई करेन्ट लाग्छ। बिजुलीका पोलहरू सही डिजाइन बिना राखिएका कारण विश्वभर हरेक तीन सेकेन्डमा एउटा चराको करेन्ट लागेर मृत्यु हुन्छ। त्याे भयावह अवस्था हाे ।
रमेश: के यी समस्या समाधान गर्न महँगो पर्छ?
मुनिर: म आबुधाबीमा रहेको मोहम्मद बिन जायद र्याप्टर कन्जर्भेसन फण्डमार्फत मङ्गोलियामा गरिएको हाम्रो कामको उदाहरण दिन्छु। अरेबियन प्रायद्वीपमा बाजपालन (Falconry) एउटा महत्त्वपूर्ण सांस्कृतिक सम्पदा हो, जहाँ सेकर फ्याल्कोन (Saker falcon) लाई सम्मान गरिन्छ।
मङ्गोलियामा, पावर लाइनहरूले ४,००० Saker falconसहित प्रतिवर्ष १८,००० सिकारी चराहरू मारिरहेका थिए। संयुक्त अरब इमिरेट्स (UAE) ले मङ्गोलिया बर्ड कन्जर्भेसन सेन्टरसँग स्थानीय साझेदारीमा लगानी गर्यो, र सन् २०१९ देखि हामीले मङ्गोलियाको ८०% भूभाग ओगट्ने ३,००० किलोमिटर लाइनका २७,००० पोलहरूमा इन्सुलेसन (विद्युत् अवरोधक) लगाएका छौँ। यसले वार्षिक १८,००० सिकारी चराहरूलाई बचाएको छ। यसको लागत प्रति पोल करिब $४० पर्छ, त्यसैले यो सजिलाे र सस्ताे समाधान हो जसलाई विश्वभर लागु गर्नुपर्ने देखिन्छ ।

मङ्गोलियामा करेन्ट लागेर मरेका सिकारी चराहरू। फोटो: मोहम्मद बिन जायद र्याप्टर कन्जर्भेसन फण्ड ।
रमेश: के मानिसहरूले चराहरूलाई हलुका रूपमा लिन्छन्?
मुनिर: केही हदसम्म, हो। ऐतिहासिक रूपमा, सचेतना नबढुन्जेल बेलायत र अमेरिका जस्ता देशहरुमा मानिसहरूले सिकारी चराहरूलाई गोली हान्थे। चराहरूले पारिस्थितिकी प्रणालीमा पुर्याउने सेवाहरूबारे शिक्षा जरुरी छ। उदाहरणका लागि, भारतमा गिद्धहरूको विनाशका कारण अनुमानित पाँच लाख मानिसको मृत्यु भयो किनभने गिद्धहरूको लोपले भुस्याहा कुकुरहरूको सङ्ख्या ह्वात्तै बढ्यो, जसले रेबिजका बिरामीहरू बढाए। भारतले रेबिजको उपचारमा वार्षिक १.५ अर्ब डलर खर्च गरिरहेको थियो, जुन सेवा गिद्धहरूले पहिले सित्तैमा प्रदान गरिरहेका थिए।
हामी आर्थिक, राजनीतिक र दैनिक सङ्घर्षहरूले भरिएको एक जटिल युगमा बाँचिरहेका छौँ। यद्यपि धेरै युवा, उत्साही मानिसहरूले आफ्नै खर्चमा संरक्षणको काम गरिरहेको देखेर म प्रभावित हुन्छु। उदाहरणका लागि, भारतमा युवा अनुसन्धानकर्ताहरूले हाडे हाडफोर (dusky eagle owls), गिद्ध, पहाडी महाचिल (mountain hawk eagles) र भंगेराहरूको अध्ययन गरिरहेका छन्। नेपालमा पनि धेरैले गरेका छन् ।
रमेश: जब तपाईं चराहरूको बारेमा सोचिरहनुभएको हुँदैन, तपाईं के गर्नुहुन्छ?
मुनिर: म केही समय गोल्फ खेलेर, गाएर, चित्र बनाएर र लेखेर बिताउँछु। लेखन मेरो लागि धेरै उपचारात्मक (therapeutic) छ। तर सबैभन्दा राम्रो कुरा भनेको एउटा दूरबिन लिएर बाहिर निस्कनु हो। आजको सबैभन्दा ठूलो चुनौती भनेको युवाहरूलाई उनीहरूको फोनबाट टाढा राखेर प्रकृतिमा लैजानु हो।
रमेश: यो अन्तर्वार्ता पढिरहेका मानिसहरूलाई तपाईंको सन्देश के छ?
मुनिर: एउटा दूरबिन लिनुहोस् र आफ्नो घरबाट बाहिर निस्कनुहोस्। तपाईं कहिल्यै पछुताउनु हुनेछैन, र यसले तपाईंलाई असल मानिस बनाउनेछ। स्थानीय चरा संरक्षण संस्थाहरूसँग सम्पर्कमा रहनुहोस् र स्वयंसेवा गर्नुहोस्। चरा संरक्षणको क्षेत्रमा लाग्नका लागि क्रिकेट छोड्नुले मेरो जीवन पूर्ण रूपमा परिवर्तन गरिदियो, र मलाई यसमा कुनै पछुतो छैन। तपाईंले अनुसन्धान नै गर्नुपर्छ भन्ने छैन; तपाईं चरा हेरेर आनन्द लिन सक्नुहुन्छ भने चरालाइ माया गरेमात्रै पनि पुग्छ।
पोखरामा अन्नपूर्ण हिमाल शृङ्खलातर्फ फर्किएको एउटा दुरबिन, एक कप कफी र चरासम्बन्धी पुस्तक। फोटो: रमेश भुसाल
रमेश: यदि मानिसहरूले तपाईंसँग सम्पर्क गर्न चाहेभने, उनीहरूले तपाईंलाई कहाँ भेट्न सक्छन्?
मुनिर: हाम्रो वेबसाइट mbzraptorfund.org मार्फत भेट्न सकिन्छ। म ‘ज्याम साइड अप’ (Jam Side Up) नामक सबस्ट्याक (Substack) पनि लेख्छु।
रमेश: त्यो नामको अर्थ के हो?
मुनिर: मेरा एकजना गुरुले मलाई त्यो उपनाम दिनुभएको थियो। यदि कुनै पाउराेटीमा ज्याम लागेको भाग तल फर्केर खस्यो भने, तपाईं त्यसलाई खान सक्नुहुन्न; तर यदि त्याे ज्याम लागेको भाग माथि फर्केर खस्यो भने, तपाईं यसलाई उठाएर खान सक्नुहुन्छ। यसले जीवनमा भाग्यशाली हुनुलाई जनाउँछ। त्यो सबस्ट्याकले चराहरू, मेराे र संरक्षण तथा जीवनको “सुन्दर अलमल” (beautiful mess) लाई समेट्छ।
किरण घाडगे र मुनिर विरानीद्वारा निर्मित हाडफोर गिद्ध (bearded vultures) सम्बन्धी फिल्मकाे ट्रेलर।.
मुनिर भिरानीकाे फाेटा यहाँ हेर्न सकिन्छ । here.







