तन्नेरी हिमालमा बुढा मान्छे
हेर्दा पहाड सुन्दर लाग्छ।साँच्चै अद्भुत । तर काेहि किन पहाडमा बस्न चाहँदैन ? तन्नेरी पहाडमा बुढा मान्छे बग्रेल्ती छन् । पहाड युवा खाेजीरहेछ तर यस्ताे अद्भुत पहाडमा पनि किन उ बस्न चाहिरहेकाे छैन ?
डम्बर बहादुर गुरुंग ,ल्वांग गाउँका बासिन्दा। तस्विर: रमेश भुसाल
रमेश भुसाल
म अलि अघि नै हिमालतिरबाट फर्केकाे हुँ । त्यसपछिका दुइ सातामा मैले अंग्रेजीमा याे न्यूजलेटर लेखें अनि नेपालीमा गर्छु भन्दाभन्दै छाडें। तर अहिले नेपालीमा अनुवाद गर्ने जाँगर चल्याे वा समय पनि मिल्याे । मजस्ताे धेरै साेच्ने र थाेरै लेख्ने लेखक वा पत्रकारका लागि लेख्न सामान्यभन्दा धेरै समय लाग्छ नै । मैले कतै पढेकाे थिएँ कि साेच्नु लेख्नु हाेइन। लेख्नु भनेकाे साेचेकाे कुरा कागजमा वा कम्प्युटरमा उतार्नु हाे किनभने साेचेर मात्रै आफै लेखिने हाेइन । त्याे ठिकै हाे तर साेच्नु पनि लेख्नुजस्तै काम हाे। त्यसैले साेच्ने र लेख्ने दुबै गरेमात्रै बल्ल केहि लेखेकाे ठहर्छ त्यसैले त मैले लेखिरहेकाे छु । तब याे लेख बन्याे । साेचिरहेकाे भए याे लेख बन्ने थिएन नै ।
के म सल्लाह दिइरहेकाे छु? तपाँइलाइ त्यस्ताे लागेपनि मेराे उदेश्य त्यस्ताे हाेइन र छैन । तर कहिलेकाहि आफु कति जान्ने छु भनेर देखाउन पनि थाेरै खुराँक त पेल्नुपर्याे नि, कि कसाे ? त्यसाे गर्दा मान्छेले मेराे लेख पढिहाल्छन् कि । अहिले मान्छेकाे हातमा माेबाइल हुन्छ र स्क्रिनमा आँखा। यति व्यस्त त मान्छे इतिहासमै कहिल्यै थिएन । मान्छे रिल मात्र हेर्छन, कहाँ लेख पढेर बस्छन् भन्छन तर यदि त्यस्ताे हाेइन भने तपाँइ याे अलि लामाे लेख पढेर देखाइदिनुस् त भनेर म कसरी भनाैं ।
ल अब लेखतिर लागाैं। खासमा नेपालमा कुनै पहाडबाट फर्कें भन्नुकाे अर्थ छैन। भन्ने नै हाे भने नेपालममा मान्छे एउटा पहाडबाट अर्काे पहाडमा फर्कन्छ। कहिले काहि तराइमा पनि उ डुलिबस्ने गर्छ त्याे बेग्लै कुरा हाे तर पहाड नचढी त उ राजधानी समेत आउन सक्दैन । म पश्चिम नेपालकाे अन्नपुर्ण हिमाल आसपास घुमेर आएँ । एक महिना बढी भयाे । त्याेबेला प्रि मनसनुकाे दबदबा थियाे अहिले मनसुनकाे । नाम फरक भएपनि बादल र पानी उस्तै हुन्। त्याे बेला कस्ताे देखिएकाे थियाे त्याे भेग भनेर हेर्न मन छ भने यहाँ फाेटाे छ। मैले अस्ताम भन्ने ठाउँकाे अन्नपुर्ण इकाे भिजेलबाट खिचेकाे हुँ।
तपाँइले सन् १९५० मा अन्नपुर्ण कस्ताे थियाे र कसरी चढियाे भन्ने जान्न चाहनुहुन्छ भने फ्रान्सेली आराेही माेरिस हरजाेगले लेखेकाे अन्नपुर्ण भन्ने किताब पढ्नैपर्छ। त्याे किताब त कराेड बढी विक्रि भएकाे थियाे ।
अस्तामबाट देखिएकाे अन्नपुर्ण हिमाल। तस्विर : रमेश भुसाल।
अहाे, मेराे किताब छालबाटाे कैलाशदेखि गंगासम्म पनि त्यति नै बिकेकाे भए त मैले पनि यता पाेखराकाे कुनै डाँडामा ढुंगाकाे एउटा राम्राे घर बनाउँथे । हिमालितर फर्काएर ठुलाे आफ्नाे पुस्तकालय बनाउँथे र कहिले सेताे हिमाल हेर्थे किहिले उडिरहेका बादल नाचेकाे हेर्थें । घामजूनकाे आउजाउकाे चियाेचर्चाे गर्थें। तर ठिक छ। मेराे किताब पनि कम विकेकाे हाेइन। लाखाै नभने पनि हजाराैं चाहि बिक्याे । मैले तीन लाखकाे पद्मश्री साहित्य पुरस्कार पनि पाएकाे थिएँ अनि पचास हजारकाे साहित्यपाेष्ट पुरस्कार पनि। साढे तीन लाखमा घर त पाेखरातिर आउँदैन तर ठिकै छ। मैले प्रकाशकबाट पनि केहि लाख त पाएकाे छु। त्याे थप्दा पनि घरै त बन्दैन तर पटक पटक पाेखरा जानआउन पुग्छ नै । के थाहा नयाँ किताब लेख्ने याेजनापनि बन्न सक्छ।
अस्ताममा रहेकाे अन्नपुर्ण इकाे भिलेजमा म बसेकाे काेठा।
म पाेखराँ जाँदा लेकसाइडमा खासै बस्दिन । मेराे प्रिय ठाउँ चाहि अस्ताममा छ। हेम्जा हुँदै पर्वत जाने एउटा भाइरल राेड छ । त्यहि राेडविचमा सुइखेत भन्ने ठाउँबाट पुर्व हेर्दा देखिने डाँडाे नै अस्तामकाे टुप्पाे हाे । त्याे टुप्पाेमा तीन दाजुभाइ मिलेर अन्नपुर्ण इकाेभिलेज भन्ने गजबकाे इकाे लज चलाउँछन् । मेराे त अहिले त्याे अर्काे घरजस्तै भएकाे छ । अव हर्जाेगकाे जस्ताे कराेडाै किताब बिकेकाे भए मैले इकाे भिलेज नै किन्थे तर अहिले म संग किन्ने नभएपनि बेलाबेला गएर बस्ने पैशा चाहि छ । त्यसका एकजना संचालक विश्व अधिकारी हुन् । मेरा मित्र भइसके। छालबाटाे किताबकाे अन्तिम सम्पादन पनि मैले त्यहाँ बसेर गरेकाे थिएँ। दुइ साताजति। यति गुणगान नगाएकाे भएपनि मैले डिक्काउन्ट पाउँथे किनभने मैले त्याे पहिला नै पाएकाे छु । साँच्चै राम्राे छ त्याे ढुंगाले बनेकाे इकाे भिलेज। मैले यति त लेख्नैपर्छ।
यहाँ त आजकल नामकाे अगाडि इकाे थपेपछि इकाे लज भइहाल्छ। खासमा इकाे भनिसकेपछि सामान्य हाेटल वा लजभन्दा केहि फरक त गर्नुपर्ने हाे। त्यसैले नेपालमा साँच्चिकै इकाे र नामका इकाे गरि दुइथरी इकाे छन् जस्ताे लाग्छ मलाई। याे चाहि साँच्चिकै इकाे हाे है । तीन लाख लिटर आकाशे पानी संचित गर्छन् । Sand Filtration बाट पानी फिल्टर गरेर पिउन दिन्छन् ।प्लाष्टिककाे बाेतलकाे प्रयाेग लगभग सुन्य छ । अहिले त गाउँ गाउँमा जहाँ गएपनि प्लाप्टिककाे बाेतल ठ्याइहाल्छन् । हजाराैं नदीनाला, हिमालै हिमाल, मुलै मुल भएकाे देशमा त त्यसाे नगर्नू नि । साँझ आगाे ताप्दा फलामे पाइपबाट पानी तातेर ट्यांकीमा जम्मा हुन्छ र विहान उठेर तपाँइले त्याे पानी बाल्टीमा भरेर नुहाउन पाउनुहुन्छ। हाे त्याे पाे त इकाे ।
अहाे, सफा पानीकाे कुरा नगराैं । म याे लेखिरहँदा पाटनकाे एउटा क्याफेमा छु र यहाँबाट १० मिनेट हिडेर गयाे भने गनाउने बागमती भेटिन्छ। प्राय यहाँ पानी हाेइन ढल बगिरहेकाे हुन्छ। हामीले शहर कस्ताे बनायाैं भनेर के कुरा गर्नु । केहि भन्याे भने पहिला पैशा कमाउने अनि अरु कुरा गर्ने भन्छन् । पैशा कमाउने र राम्राे विकास पनि संगसगैं गर्न सकिन्छ भन्याे भने तैँ गर भन्छन । अहिले त फक याेरआइडिया पनि भन्न सक्छन् ।आहिले चलनचल्तीकाे भाषामा भनेकाे ।
मैले यसपटक एक साता अन्नपुर्ण हिमाल आसपास विताएँ । तर दुइ दिनमात्रै पुरै हिडें । त्यस्ताे पनि के हिडेकाे भन्नु तर निकै रमाईलो भयो । पहाडमा जन्मेकाे मान्छेका लागि हिड्नु सामान्य हाे । म सात बर्षकाे उमेर पर्वतबाट बस चढ्न एक दिन हिंडेर स्यांग्जा आएकाे थिएँ । छालबाटाे लेख्न म हप्ताै कर्नाली वरिपरि हिंडेकाे थिएँ। मलाई हिड्न असाध्यै मन पर्छ। यसपटक एक्लै हिंडे । कुनै दबाब थिएन । कुरा गर्ने कि त बादल थियाे कि त चराहरु । कि रुख भेटिन्थे कि खाेला । बेला बेला मान्छे भेटिन्थे। अधिकांश समय भेटिने चाहि सुनसान थियाे वा साँझमा झ्याउँकिरी। मेराे गन्तव्य थियाे तर उदेश्य थिएन ।
अस्तामबाट मार्दी खाेला झर्ने बाटाेकाे एउटा चाैपारी : रमेश भुसाल
यसपटक म डहरै डहर धेरै हिंडे । अस्तामबाट सिधै मार्दी नदी झर्ने डहरे बाटाे त यति मजाकाे रहेछ कि धितै मर्याे । आजकल सडक गएपछि हिड्ने राम्रा बाटा भेट्नै मुस्किल छ। अझ याे फाेटाेमा जस्ताे डहरे बाटाे त कहाँ पाउनु ? नयाँ बनाएका बाटा त पुरै सिमेन्टका सिंढी छन् । हेर्दा पनि दिक्क लाग्छ , हिड्न पनि मजा नआउने तर के गर्नु सबैकाे जाेडबल सिमेन्टमै छ। अहिले त नेपालमा एउटा मात्रै बाद छ जस्ताे लाग्छ मलाई त्यो हो सिमेन्टवाद। न पुँजीबाद न त समाजबाद। न माअाे लेनिन वाद। नभए याे तल बाघकाे फाेटाे हेर्नुस् त। कतै बाघ देख्नुभयाे । मैले त भ्रष्ट विचार मात्रै देखें। याे बाग्लुंगमा तीन लाख खर्च गरेर बनाइएकाे सिमेन्टकाे बाघ हाे । याे बाघ त पक्कै हाेइन तर याे बनाउन भने ६ सय बाघ भएकाे नाेट खर्च भएकाे रहेछ। सिमेन्ट किन्याे, मिलीजुली खायाे । त्यहि हाे सिमेन्टवाद।
हाँसीरहेकाे (राेइरहेकाे )बाघ । बाग्लुंगमा करकाे रकमले बनाएकाे बाघ। हरे। फाेटाे सेताेपाटी
यस्ता बाघ मात्रै हाेइन अरु धेरै कुरा बनाइएकाे छ। केहि साताअघि म दाेलखाकाे सैलुंग गएकाे थिएँ। त्यहाँ कराेडाैं खर्चेर मिनी ग्रेट वाल बनाइएकाे छ तर पर्यटकले मुत्ने एउटा शाैचालय समेत छैन ।कस्ताे मति हाे याे । यत्राे विश्वकै सबैभन्दा अग्लाे हिमालय पर्वत बाेकेर उभिएकाे देशका मान्छे ढुंगाका मिनी ग्रेटवाल बनाएर बसेका छन् । चित्त र चिन्तन सानाे भएपछि आउने बुद्दि भनेकाे यस्तै हाे । भव्य हिमालय पर्वत बाेकेर बसेकाे देशले यस्ता खित्रेमित्रे कुरुप आकृति बनाएर बसेकाे छ।
दाेलखाकाे सैलुंगमा बनेकाे मिनी ग्रेटवाल । तस्विर :रमेश भुसाल
म अस्तामबाट ल्वागं गाउँ गएँ । विस्तारै विस्तारै जाँदा ४ घण्टा लाग्याे । चरक्क घाम लागेकाे भन्दा वादलसंग लुकामारी खेल्दै गरेकाे आकाशमुनी हिड्न सजिलाे हुन्छ। घामकाे जिम्मा वादलले लिएका थिए तर बेला बेला घाम मेराे हालखबर बुझ्न यसाे आइपुग्थाे । त्याे थाहा पाउने वित्तिकै वादलले घेरिहाल्थे। मार्दी खाेलाकाे दाहिने किनारमा रहेकाे खाेरामुखबाट पश्चिमपट्टीकाे उकालाे लागेर म ल्वांग पुगें। कतै चराकाे आवाज त कतै आफ्नै खुट्टाकाे आवाज। ति दुइ आवाजकाे वर्चश्व थियाे मेराे यात्रामा । खाेरामुखमा एउटा विसाैनी थियाे जहाँ ६/७ जना बुढा गफ लगाएर बसेकाे थिए । एकजना रक्सीले मस्त मानिसलाई सबै बुढा मिलेर उडाइरहेका थिए । जे भने पनि बिल्याउँथे । उनी दलित रहेछन् । बेला बेला म त खतरा हाे । म यस्ताे हाे । म त उस्ताे हाे भन्दै गफ लाउँथे। बुढाहरु हाँस्थे अनि भन्थे याे त प्रधानमन्त्री हुनपर्नि मान्छे हाे तर अहिले यस्लाइ फुर्सद नभएर मात्रै हाे । अनि सबै हाँसे । यस्तै यस्तै गफ सुनेर म खाेरामुखबाट ल्वांगतिर उकालाे लागेकाे थिए । अहिले गाउँतिर देखिन दृष्य यस्तै हुन् । प्राय बुढाबुढी नै भेटिन्छन् । युवाले देश छाडेका छन् । केहि कमाएर पठाएका छन् यता बाआमाले धानेका छन् । यो विश्वकै अग्लो र कान्छो हिमाल आहिले बुढाबुडीको काँध मा छ।
ल्वांग गाउँ । तस्विर : रमेश भुसाल
खाेरामुखबाट ल्वांग पुग्नुअघिकाे जंगलमा केहिबेर बिसाँए । एउटा लाम्पुछ्रे रानीचरीले निरन्तर करायाे । मानाैं उस्ले मलाइ देख्याे र आफ्नाे गीतकाे स्राेता पाएर खुसी भएकाे थियाे । ल्वांग गाउँ पुग्नुअघि बाटाेमा एकजना बृद्द मजाले गीत गाउँदै झर्दैथिए। उनी मेराे अगाडी आएर राेकिए । हातमा सानाे लाैराे थियाे भने काखीमा आेड्ने प्लाष्टिक च्यापेका थिए । भैंसी चराउँदै रहेछन् ।
उनलाइ मैले के गीत गाउनुभएकाे भनेर साेधें । उनले भने , “ हेर त याे पहाड हिमाल कति राम्राे छ। कति राम्राे छ याे हरियाली । याे त प्रकृतिकाे अस्पताल हाे तर के गर्नु काेहि बस्न मान्दैन । छाेरा -नाती काेहि पाेखरा त काेहि विदेशमा छन् । म उता पाेखराकाे घरमा बस्न गाकाे विरामी भएँ । यि यहाँ आएकाे सन्चाे भयाे । अनि गाउँनु परेन त गीत ।”
भाेकमा भात भेटेपछि कुन नेपाली खुसी नहाेला । त्याे पनि थकाली भान्सा । नेपालमा त भन्छन् नै दालभात पावर ट्ववान्टी फाेर आवर । एउटा बाह्रसिंगे वियर पनि पिएँ । यसाे साेचें मान्छेले पहिला जनावार मार्छन् अनि तिनैका नाममा वियर उत्पादन गर्छन् । हेर्नस् त वियरका नाम- टाइगर, राइनाे ,अर्ना, बाह्रसिंगे अनि यस्तै यस्तै ।जंगलमाभन्दा बढी जैविक विविधता त वियरमा पाे देखिन्छ त ।
हजार रुपियाँमा एक पेट दालभात अनि एउटा वियर । देश त सस्ताे हाे नि मान्छे नै गरिव भएर पाे हाे । लण्डन न्यूयाेर्कमा एक गीलास वियरकै यति तिर्नुपर्थाे । यदि तपाँइ पश्चिमा देशबाट आउनुभएकाे छ भने मान्नुस् तपाँइ निशुल्क नेपाल घुमिरहनुभएकाे छ । त्यसैले नेपालमा आउनुस् तर अलि धेरै खर्च पनि गर्नुस् । थाेरै खर्च गर्नेलाइ नेपालीहरुले झाेले टुरिष्ट भन्छन् । ठिकै छ तपाँइ झाेले नै हाे भने पनि आउनुस् । नेपालीहरुले नझाेले नेपाली टुरिष्ट भन्दा झाेले गाेरा टुरिष्टलाइ सम्मान गर्छन। जे भएपनि आउनु्स है । याे पृथ्वी तपाँइहरुकाे पनि हाे । त्यसैले तपाँइ अलि नाइस् झाेले टुरिष्ट बनेर भए पनि आउनुभए राम्राे हुनेथियाे ।
घाम त हरायाे । पानीले पुरै कव्जा हानिसकेकाे थियाे । चार बज्दैथियाे त्यसैले मैले साेचें धम्पुस गएर बस्छु । तीन घण्टामा पुगिन्छ भनेर एकजना बाले भने तर मलाइ स्थानीयले भन्ने समयकाे भर लाग्दैन । उनीहरु आफ्नाे गतिकाे आधारमा भन्छन। एकपटक लांगटांगमा यस्तै गर्दा विजाेक भएर राती नाै बजे जहाँबाट गएकाे हाे त्यहि फर्केर बास बस्नुपरेकाे थियाे । यसपटक प्रि मनसुनकाे पानीले दैनिकजसाे जमीन छाेइरहेकाे थियाे । पाेखराका केहि दिनकाे बसाँइमा लगभग दिनहुँ पानी पर्याे । त्यस्तै थियाे माैसम। जलवायु परिवर्तनले गर्ने नै यस्तै हाे। नपर्ने बेला धेरै पर्ने तर पर्नुपर्ने बेला थाेरै वा पर्दैनपर्ने । पानी नै पर्दा पनि एक्कासी र आरीघाेप्टे पर्ने । कतै पर्ने कतै नपर्ने । अहिले आकाशकाे दैनिकी फेरिएकाे छ । पानीकाे आनीबानी फेरिएकाे छ।
ल्वांगबाट धम्पुस जानेबेला यस्ताे सुन्दर ठाउमा पुगें कि हल्का पानी परिरहेकाे बेला थचक्क बसेर आकास हेरें। चराकाे आवाज सुने र सुने बगिरहेकाे सानाे खेालाकाे आवाज । त्याे झाेलुंगे पुल धेरैसमय खासै प्रयाेग भएजस्ताे देखिन्थेन । एउटा माेटरबाटाे हुँदै म गएकाे थिएँ । माेटरबाटाे घुम्याे र त्याे घुम्तीमा थियाे हिड्ने पुल । माेटरबाटाेमा गाडी नगुडेकाे धेरै भएकाे हुनुपर्छ।झारले कव्जा गरिसकेका थिए ।
ल्वांग र धम्पुस विचतिर खानी गाउँ भन्दा मुनीकाे झाेलुंगे पुल । तस्विर : रमेश भुसाल
धम्पुस पुग्नै लाग्दा अध्याँराे भइसकेकाे थियाे । सडक फराकिलो भए पनि निकै हिलो थियो। एकठाँउमा त ग्माम्मै खुट्टा गाडियाे । पुरै हिलै भयाे। सुन्दर नेपाल भन्नेमा म अडिग नै छु है बिगारेकाे हामीले हाे । बस्ने कहाँ थाहा थिएन केहिबेर हिडेपछि एउटा सामान्य हाेटलजस्ताे देखिने घरमा पसें। नाम रहेछ फिसटेल कटेज। खाना खाँदै गर्दा होटल मालिकलाई सोधें। धम्पुसमा भएकाे सबैभन्दा परिवर्तन के हाे ? उनले फ्याट्टै भने “पहिला हरेक युवाको हातमा हलो हुन्थ्यो, अहिले सबैसँग मोटरसाइकल छ। त्यही होला ठूलो परिवर्तन।”
धम्पुसबाट हिडेर हेम्जाकाेट हुँदै म फेरी अस्ताम झरें।
हिमालपहाड निकै द्रुत गतिमा फेरिंदैछन् । समाजमात्रै हाेइन भुगर्भ पनि। याे संसारकै सबैभन्दा अग्लाे तर सबैभन्दा कान्छाे हिमश्रंखला हाे । त्यसैले भनिन्छ याे अहिलेपनि बन्नेक्रममा छ। याे पहाडमा धेरै बाटा उकालिएका छन् । मान्छे आेरालाे झरेका छन्। युवा विदेशिएका छन् भने बुढाबुढी तिनीहरु फर्कने आशामा जीन्दगी कटाइरहेका छन् । जलवायु परिवर्तनकाे चपेटामा पनि परेका छन् यि पहाड हिमाल । हेर्दा पहाड सुन्दर लाग्छ। साँच्दै अद्भुत् । तर काेहि किन पहाडमा बस्न चाहँदैन ? किन मान्छे पहाड छाेडिरहेछ र उस्लाइ के ले फर्काउँछ? अवसर र पैशा मात्रै हाे कि अरु केहि छ। पक्कै पनि एउटै उत्तर छैन तर पहाड मान्छे पर्खेर बसेकाे छ । तपाँइ पनि फेरिएकाे पहाड हिमाल हेर्न चाँडै जानुस् र आँखामा कैद गर्नुस् त्याे धेरै नफेरिँदै ।
हेम्जाकोटबाट देखिएको अस्तामको डाँडा। तस्विर : रमेश भुसाल
पढेर केहि प्रतिकृया पठाउनुहाेला है । तपाइले अर्काे चिठ्ठी बंगलादेशबारे यहाँ पढ्न सक्नुहुन्छ । ल अहिलेका लागि यत्ति नै।












