माटो : सबै जाने बाटो
जिउँदो छँदा उभिने आधार हो– माटो, मरेपछि अरूलाई उभ्याउने धरातल पनि । माटो सबै जाने बाटो हो र फर्कने पनि । त्यो हो, जीवन–मरणको राजमार्ग ।
कान्तिपुर दैनिकमा भाद्र १, २०८१ मा प्रकाशित
रमेश भुसाल
असारको अन्तिम साता सिमसिम पानी परिरहेको छ, आकाश भनिरहेछ– थप जोडले पर्नेछु । इँट्टाले थिचेको, सिमेन्टले लिपेको काठमान्डु उपत्यकाको पश्चिममा रामकोटको उकालो चढ्दै छ गाडी । घर घट्दै गए, माटोले रूप देखाउँदै गयो । कतै झारले त कतै रूखले । कतै घरले त कतै बाटोले माटो लुकाउँछन् । सहरमा माटो देख्नै मुस्किल छ । कतै देखिइहाले पनि त्यो माटो हुँदैन, हिलो भइदिन्छ ।
भीमढुंगाबाट केही पर पिचसडक सकियो । सिमसिमे पानीले माटो गिल्यायो । पाङ्ग्रा गाडिए । गाडी नाच्यो । शरीर मर्कियो । मन थर्कियो । यस्तोबेला पाङ्ग्राको भन्दा खुट्टाको भर बढी लाग्नुपर्ने, तर हिलोको छिःछिःमा हुर्केको शरीर पाङ्ग्रामाथि नै अडियो र भन्यो– गए ज्यान गाडीसँगै जाला ! आधुनिक ज्यान न पर्यो ।
•••
नदी उर्लिएका छन्, झरना पोखिएका छन् । पहाड पानी पिएर टम्म भरिएका छन् । आकाश पग्लिरहेको छ । पानीका थोपा जमिनतिर बगिरहेका छन् । माटोको भारी बोकेको त्रिशूली नदी सडक भेट्न आतुर भएजसरी उकालिएको छ । माटोले रंग देखाइरहेको बेला म भने माटोबारे सोचिरहेको छु । केही समयदेखि म माटो पढिरहेको छु । माटोमा टेकेर, माटो नै खाएर, माटो नै पिएर बाँच्ने मान्छेले विरलै माटोबारे सोच्छ । म गलत पनि हुन सक्छु, किनकि तपाईं भन्नुहोला– किसानले सोच्छ त ! तर, अहिले किसानभन्दा धेरै कम्पनी भइसके । कम्पनीले उत्पादनबारे सोच्छ, माटोबारे होइन । माटो अहिले किसानको होइन, कम्पनीको भएको छ । बीसौं शताब्दीमा अकासिएको पुँजीवादी व्यवस्थाले जमिनलाई मान्छेको नाममा राख्ने व्यवस्था थप बलियो बनायो । स–साना किसानले उत्पादन गर्ने खाद्यान्न अब ठूला किसान र कम्पनीहरूले उत्पादन गर्न थाले ।
सन् १९६० मा एक अमेरिकी किसानले सरदरमा २५ मानिसलाई खाना खुवाउँथ्यो, तर अहिले एकजनाले १२९ जनालाई खुवाउँछ अर्थात् थोरै किसानले धेरै उत्पादन गरेर धेरै मानिसलाई खुवाउन थाले । तर, त्यहाँ संख्या मात्रै थपिएन, नाफा पनि थपियो । नाफामा हिसाब उत्पादनको हुन्छ, माटोको गुणस्तरको हुँदैन ।
मानिसले पानी पिउँछ, खाना खान्छ, हावामा सास फेर्छ तर माटो पिउँदैन, खाँदैन । खासमा उसले त माटोलाई कुल्चिन्छ, खोस्रिन्छ । तर, जुन धरातलमा ऊ उभिएको छ त्यसबारे ऊ विरलै किन सोच्ने गर्छ ? ऊ मरेपछि जहाँ जान्छ ? त्यसबारे पनि ऊ खासै सोच्ने गर्दैन । ऊ त स्वर्ग वा नर्कबारे गम्नमै व्यस्त हुन्छ । ऊ भान्सामा तरकारी देख्छ, तर देख्नपर्ने माटो हो । चियाको रंग देख्छ, तर सोच्नुपर्ने माटोबारे हो । हावाबारे गम खान्छ, पानीबारे सोचिबस्छ, तर माटोलाई बाल दिँदैन । किन ? के माटो विरूप हुन्छ ? वा सोच्नलायक नै हुँदैन ?
खेतबारी, गाउँ–सहर, बाटाघाटा, पुल–पुलेसा जताततै मान्छेले माटोलाई कि थिचेको छ, कि खनेको छ, कि पेलेको छ, कि त घोलेको छ । नभए रसायन छर्केर घायल बनाएको छ । अहिले वार्षिक रूपमा ३५ लाख टन विषादी त मान्छेले माटोलाई पिलाउँछ ।
तर, माटो पछिल्लो पात्र हो पृथ्वीको । पृथ्वीमा पछिल्लो भनेको पनि ४५ करोड वर्षअघि हो । यहाँ करोड होइन, अर्ब वर्ष पुराना पात्र पनि छन् । मान्छेचाहिँ केही लाख वर्षअघि जन्मिएको पात्र हो, तर पछि आएको भए पनि उसले धमाका मच्चाएको छ । पुराना पात्रहरूलाई कज्याएको छ । मान्छेले नयाँ–पुराना सबैको हुर्मत लिएको छ ।
४५ करोड वर्षअघि के भएको थियो र जन्मियो माटो ? साढे चार अर्ब वर्ष पुरानो पृथ्वीले आफूमा माटोको लेपन लगाउन चार अर्ब वर्ष किन पर्खनुपर्यो ?
•••
एकतमासले बगेको यमानको माटाम्य त्रिशूली र माथि माटोको लेपन लगाएको अक्करे भीरबीच बनेको अलकत्रे धर्से बाटोमा खसेको पहिरोका कारण चरौंदीभन्दा केही पर गाडी रोकियो । माटे–पानी बगिरहेको हेर्दै म भने केही दिन अघि पढेको माटोबारेको अनुसन्धानबारे सोचिरहेको छु । सन् २०१२ मा ‘नेचर जीओ साइन्स’ मा एउटा अनुसन्धान छापिएको थियो, जसमा भनिएको छ– खासमा पृथ्वीमा माटो ४५ करोड वर्षअघि मात्रै बन्न सुरु भएको हो, जब वनस्पतिहरूको उदय भयो । हामीलाई लाग्छ, माटो नदीहरूले नाङ्गा चट्टानहरूलाई खुइल्याउँदै जाँदा, बगाउँदै गर्दा बनेको हो । तर, खासमा माटो रूखबिरुवाहरूले बनाएका हुन् । करिब ४५ करोड वर्षअघि जब स–साना बिरुवाहरूले जमिन कब्जा गर्न थाले, त्यसपछि माटो बन्न सुरु भयो । जब रूखबिरुवाको साम्राज्य बढ्दै गयो, तिनले हावामा रहेको कार्बनडाइअक्साइड ग्यास द्रुत गतिमा खपत गर्न थाले । कार्बनडाइअक्साइडको मात्रा घटेपछि पृथ्वीको तापक्रम ओरालो लाग्न थाल्यो । हिउँले ढाकिएको पृथ्वीमा हिउँ पग्लने गति बढ्यो । चट्टानहरू खुइलिन, टुक्रिन थाले र त्यसैलाई मिसाएर रूखबिरुवाले माटो बनाए र पानीलाई नियन्त्रण गर्न थाले । जता पनि बगिरहेको पानीले निश्चित बाटो बनाएर बग्न थाल्यो र नदी–खोला बने । चट्टानका टुक्रा र मरेका वनस्पतिहरूको अवशेषले थप माटो बन्दै गयो । पृथ्वी मलिलो बन्दै गयो । थप जीवनहरू फल्दैफुल्दै गए । पृथ्वीको स्वरूप नै फेरियो । आफू जन्मेको धेरै वर्षपछि मात्रै बल्ल पृथ्वीको छाला बन्यो अर्थात्– माटो ।
माटो आफ्नै गतिमा बनिरहेको थियो । बोटबिरुवा, जनावर, किराकिरी आउने–जाने भई नै रहेको थियो । तर, माटो धीमा गतिमा बन्छ, त्यसैले माटोलाई आफ्नो काम गर्न समय चाहिन्छ । अमेरिकी माटो–वैज्ञानिक डेभिड मोन्टगोमेरीको भाषामा भन्ने हो भने खासमा भूगर्भ र वनस्पति, जीवजन्तुको बिहेपछि जे जन्मन्छ, त्यो माटो हो । ढुंगा टुक्रिएर, बोटबिरुवा र अन्य जन्तु मरेर कुहिएपछि मलिलो माटो बन्छ । प्राकृतिक रूपमा माटो एक इन्च चाक्लो हुन सयौं वा हजारौं वर्ष पनि लाग्छ ।
•••
एकातिर उर्लंदो नदी, अर्कातिर खस्न खोजेको पहाडबाट फुत्किएपछि भेटेको भात– मुग्लिङमा । कुनै बेला पृथ्वी राजमार्गमा भातको अर्को नाम थियो– मुग्लिङ, तर अहिले समय फेरियो । मुग्लिङले फेरिन जानेन । थालमा तरकारी, दाल, भात, अचार, साग, खुर्सानी, लसुन, प्याज, अनेकथरी छन् । तर, माटोबारे पढ्न थालेदेखि मेरा आँखा फेरिएका छन् । म थालमा भात, अचार, साग वा तरकारी देखिरहेको छैन, माटो देखिरहेको छु । विषादी भनौं कि वा युरिया ! अथवा नाइट्रोजन, फसफोरस, क्याल्सियम ! तर, मान्छे माटोभित्र पसेर माटो केलाउन जान्ने भएको धेरै भएकै छैन ।
माटो बुझ्न निकै कठिन थियो, अझै पनि सजिलो छैन । पश्चिमा विश्वमा पाँचौंदेखि चौधौं शताब्दीसम्म विज्ञानले खासै चमत्कार गर्न सकेन, किनभने धर्म निकै हावी हुँदै गयो । विज्ञानको विकासमा खासै जोड भएन । त्योभन्दा अगाडि भएका वैज्ञानिक कामहरूले पनि खासै निरन्तरता पाउन सकेनन् किनभने धर्मले विज्ञानलाई तगारो लगाइदियो । तर, १५ देखि १८ औं शताब्दीमा वैज्ञानिक क्रान्ति भयो । वैज्ञानिक जगत्को पुनर्जागरण भयो ।
१६ औं शताब्दीको मध्यतिर वैज्ञानिक वर्नार्ड पालिसीले बिरुवाले माटोबाट सबै तत्त्व नुनको रूपमा लिन्छ भन्ने दाबा गरे, जसलाई नुन सिद्धान्त भनियो । तर, त्यसले खासै स्थान पाएन । १६ औं र १७ औं शताब्दीमा वैज्ञानिहरू भान हेलमन्ट र रोर्बट बोयलले भने रूखबिरुवाले सबै कुरा पानीमार्फत पाउँछन् र माटो केवल माध्यम मात्रै हो भन्ने सिद्धान्त निकाले, जुन लगभग सय वर्ष स्थापित रह्यो । १८ औं शताब्दीको सुरुतिर भने वैज्ञानिक अलव्रेख्त थाएरले ह्युमस सिद्धान्त निकाले र रूखबिरुवाले कार्बन नामक तत्त्व हावाबाट होइन, माटोबाट लिन्छ भन्ने दाबा गरे । विज्ञान लामो समय तर्कहरूमा सीमित थियो किनभने कुनै तर्कलाई प्रमाणित गर्न चाहिने तथ्य निकाल्न सक्ने उपकरण बनेकै थिएनन् । विज्ञान कुनै विधा नबनेको पुरानो समयमा कलाकार, दार्शनिक सबै तर्क गर्थे । माटोको विचित्रताले चकित परेका लियोनार्दो दा भिन्सीले समेत माटोको अध्ययन गरेका थिए । उनले सन् १५०४ देखि १५०६ सम्म गमलामा बिरुवा हुर्काएर माटो अध्ययन गरे । दुई वर्षपछि भने, ‘हामीलाई माटोभन्दा बढी त आकाशका तारा र ग्रहबारे जानकारी छ ।’ माटोबारे अनभिज्ञ थियो मानिस । केही रोप्थ्यो, फले खान्थ्यो, नफले थातथलो छाडेर अन्तै लाग्थ्यो । माटोले अन्न उत्पादन गर्थ्यो र त्यसैका भरमा शासकहरूले राज्यहरू चलाउँथे । राज्यको मेरुदण्ड थियो– माटो ।
माटो लामो समय भूगर्भ विज्ञानको अंग मात्रै बनेर बस्यो । १८ औं शताब्दीको सुरुवाततिर युरोपमा देशहरूको नक्सा निकाल्न सुरु गरियो, जहाँ कुन बाली र कुन प्रजातिको जंगल छ भन्ने संकेतहरूसमेत राख्न थालियो । त्यसैका आधारमा राज्यहरूले कर निर्धारण गर्थे । त्यसमा निकै अगाडि थियो– जर्मनी । त्यहाँ कर व्यवस्था लगाउने काममा लागेका जर्मन नागरिक फेडरिक फालोले माटोविज्ञानलाई पेडोलोजी नामकरण गरिदिए । पेसाले वकिल थिए फालो, तर उनको माटोमा गहिरो चासो थियो । माटोको गुणको आधारमा कर लगाउने काम भए पनि माटो ढुंगा, चट्टान फुटेर वा खिइएर मात्रै बन्ने वस्तु हो भन्ने बुझाइ व्याप्त थियो । तर, १९ औं शताब्दीको मध्यतिर माटो ढुंगा, चट्टान फुटेर वा खिइएर मात्रै बन्ने वस्तु मात्रै होइन, यसको आफ्नै जीवन छ, आफ्नै विशेषता छ र बन्ने प्रक्रिया छ भनेर केही वैज्ञानिकले तर्क गर्न थाले, जसमा रुसी भूगर्भशास्त्री भासिली दोकुचेभको अग्रणी स्थान छ ।
सन् १८४६ मा रुसमा जन्मेका भासिली दोकुचेभ एक भूर्गभशास्त्री थिए । दोकुचेभले लामा अध्ययनहरू गरे र भने, ‘माटो भनेको जलवायु, पितृवस्तु अर्थात् ढुंगा–चट्टान, भिरालोपना, समय–वनस्पति र जीवजन्तुको अवशेषको मिश्रण हो । माटोको आफ्नै बन्ने प्रक्रिया हुन्छ । यसको आफ्नै जीवन छ, आफ्नै विशेषता ।’ पछि उनको अध्ययन स्थापित भयो ।
•••
पेटमा हुलें– माटो वा खाना । जे भए पनि पेट भरेर, अक्करे भीर काटेर चितवनको समथर सौराहा पुग्दा गर्मी हप्प थियो । आकाश केहीबेर आराम गरिरहेको थियो वा बादल व्यवस्थापनमा व्यस्त थियो । ‘इल्सभियर’ मा प्रकाशित ‘माटोको सुरुवाती ज्ञान, जन्म र माटोविज्ञानको विकास’ शीर्षकको एउटा अनुसन्धानपत्र भने म सौराहामा राप्तीकिनारमा बसेर पढिरहेको छु । राप्ती पनि आफ्नो रंगमा छैन, उसको रंग पनि माटोकै भएको छ । खासमा नदीहरूलाई बगाउन माटोको ठूलो हात छ । माटोले पानीलाई अड्काउन सक्ने भए, रूखपात हुर्काउन सक्ने भए र त पानीले नदी–रूपी आफ्नो बाटो बनाउन पाए । कोही वर्षैभरि बग्न पाए, कोही बर्खामा बेगिने र हिउँदमा रित्तिने भए । नदीहरूले हरेक वर्ष नेपालबाट मात्रै २४ करोड घनमिटर मलिलो माटो बगाएर बंगालको खाडीसम्म पुर्याउँछन् भनेर एक अध्ययनले भन्छ । यसरी सयौं वर्ष लगाएर बनेको माटो बगेको छ, तर यहाँ माटोको कसलाई मतलब ? जाबो माटाको पनि के कुरा गर्नू ? सधैं नयाँ सरकार बनाउने हतारो हुने देशमा माटो, पानी, हावाबारे को सोचिबस्छ ?
राप्तीमा माटो बगिरहेछ, काठमान्डुमा सरकार ढलिरहेछ । राजमार्गमा पहिरो खसिरहेछ, काठमान्डुमा नयाँ सरकार बनिरहेछ । साँझ राप्तीमा माटो बगाउँदै गरेको दृश्य हेरेर सुतेका ज्यान बिहान दुईवटा बस सिमलतालको पहिरोले बगाएको समाचार सुन्दै उठ्यो, ६५ बेपत्ता । ती त्रिशूलीमा हराएका मानिस फेरि नयाँ सरकारका नाइकेहरूले देश र जनताका नाममा गर्ने चर्को भाषण गरेको सुन्नबाट बञ्चित भए ।
तर, माटोले सरकार मात्रै होइन सभ्यताहरूलाई समेत धरापमा पारिदिएको छ भन्ने हेक्का नेताहरूलाई हुँदैन किनभने नेताहरूले अर्को सरकारसम्म मात्रै सोच्न सक्छन् वा चुनावसम्म । तानाशाही, राजशाहीले भने छोरा–नातिसम्म सोच्न सक्छन् कि ? माटोले नै धेरै सभ्यताहरू बसायो र माटोकै कारण धेरै सभ्यताहरू हराए पनि । करिब १२ हजार वर्षअघिसम्म जंगल डुलिहिँड्ने मानिस अहिलेको इराक आसपासको मेसोपोटामियामा आएपछि रोकियो । अरू धेरै ठाउँहरूमा विभिन्न सभ्यताहरू बनिरहेका थिए । तर, मसोपोटामियामा प्रशस्त मात्रामा जंगली जौ र गहुँ देखेपछि टिग्रिस र युफ्रेट्स नदीबीचको भागको त्यो क्षेत्रमा मान्छेले खेतीपाती गरेर बस्ती बसाउन थाल्यो । त्यहाँ निकै मात्रामा पानी थियो, तर अहिले त्यो भेग धेरै सुख्खा छ ।
खेतीपातीको युग सबैतिर फैलियो । युरोप, अरब, दक्षिण अमेरिका, अफ्रिका सबैतिर । जसले माटोलाई बुझे ती सभ्यता धेरै टिके, जसले माटोलाई बेवास्ता गरे ती धेरै टिकेनन् । अधिक दोहन गर्नेहरूले थातथलो छाड्नुपर्यो । माटोलाई माया गर्नेहरूले माटोको पनि माया पाए । सबैभन्दा पुरानो भनिने मेसोपोटामिया सभ्यताको सुरुवातीमा सुमेरियन र बेबीलोनियनहरूले खेतीपाती राम्रो गरेका थिए, सिँचाइका लागि कुलो बनाएका थिए । तर, सुमेरियनहरूका पालामा पानीमा नुनको मात्रा बढी भएपछि उत्पादन हुन छाड्यो । त्यही बेला सुमेरियनहरूलाई बेबीलोनियनहरूले कब्जामा पारे र आफ्नो शासन सुरु गरे । पछि बेबीलोनियनहरू पनि सिद्धिए, जब छेउछाउका डाँडाहरूबाट व्यापक माटो बगेर नहरहरू भरिए । उनीहरूले पहाडका रूख मासेका थिए, जसले भूक्षय व्यापक भयो । उता इजिप्टमा नाइल नदीको उर्बरापनाले इजिप्टेलीहरूले धुमधाम उत्पादन गरिरहेका थिए । नाइल नदीमा बाढी आउँथ्यो, मलिलो माटो खेतमा भरिन्थ्यो र उत्पादन हुन्थ्यो । लामो समय नाइल नदीले उनीहरूलाई धान्यो । बाढीको पानीले माटोमा नुन थिग्रिन दिँदैनथ्यो र माटोलाई उर्बर बनाउँथ्यो । कतै माटोले उकास्यो त कतै खसाल्यो ।
माटाले आफ्नो काम गरिरहेको थियो । मान्छेले आफ्नो । सबै ठीकठाकै थियो । तर, जब मान्छे माटोभित्र पसेर त्यसलाई केलाउन सक्ने भयो, त्यसपछि उसले माटोलाई निर्देशन दिन थाल्यो । हैकम चलाउन थाल्यो । माटोले पृथ्वी अर्कै बनायो । मान्छेले माटो नै अर्कै बनाइदियो ।
इन्जिन बनेपछि त मान्छेले हातखुट्टाले काम गर्न छाड्दै गयो । इन्जिनले माटो उल्ट्यायो पल्टायो, गुल्ट्यायो । सकेसम्म धेरै बाली लगायो । एकातिर मेसिनले पेल्यो, अर्कोतिर रसायन ठेल्यो । त्यसपछि माटोले लय बिर्सियो । ऊ मान्छेको अधीनमा पर्यो । रसायन बालीमा, तरकारीमा पुर्याउने माध्यम बन्यो– माटो । माटो आफूले निर्णय गर्न छाड्यो । बाली कस्तो लगाउने ? कहिले लगाउने ? मात्रै होइन कति पोटासियम बिरुवामा पुर्याउने ? कति नाइट्रोजन हुल्ने ? कति फस्फोरस सोस्ने ? यो माटोले निर्णय गर्न पाउन छाड्यो । मान्छे क्याल्कुलेटर लिएर बस्यो, जर्किन भर्यो, युरिया छर्यो । खाना सहज हुँदै गयो, मान्छे पनि मौलाउँदै गयो ।
मान्छेले भकारी भर्यो, तर पैतालामुनिको विविधता र विचित्रको संसारलाई ध्वस्त बनायो । हाम्रो खुट्टामुनि यस्तो विचित्रको पारिस्थितिक प्रणाली छ, जसले हाम्रो कल्पनाशीलतालाई समेत चुनौती दिन सक्छ । एक मुठी स्वस्थ माटोमा त्यति सूक्ष्म जीव हुन्छन्, जति यो पृथ्वीभरिमा मान्छे छन् अर्थात् आठ अर्ब । तर, मान्छेले पैतालामुनिका अर्बौं जीव क्षणभरमै सखाप पारिदिन्छ, रसायन जो बनाउन सक्ने भएको छ मानिस । उसले पिचकारी बोकेर हिँडेको छ, माटो कब्जा गरेको छ । अहिले पृथ्वीभरिको माटोमध्ये ६० प्रतिशत त कुनै न कुनै रूपमा विषाक्त छ, बिग्रिएको छ ।
मान्छेले पृथ्वीको आधा बस्नयोग्य भूभाग आफ्नो खाना उत्पादनका लागि कब्जा गरिसक्यो, तर आज ८० करोड मानिस भोक नमेटी बस्न बाध्य छन् । किनकि यहाँ माटोमा अन्न होइन अर्थ फल्छ । अन्न पहिले पैसा बन्छ र मात्रै खाना । जोसँग पैसा छैन उसले अन्न हेर्न पाउँछ, खान पाउँदैन । त्यसैले त आज विश्वको ९० प्रतिशत अन्नको व्यापारमा चार कम्पनीको कब्जा छ । त्यस्तो विविधतायुक्त पृथ्वी बनाएको माटो अहिले लाचार छ । अहिले पृथ्वीमा चार बालीको वर्चस्व छ– गहुँ, धान, मकै र जौ । कुनैबेला विरलै भेटिने यी चार बालीले मात्रै पृथ्वीको आधा अर्ब बढी हेक्टर जमिन ओगट्छन् । चार बाली, चार कम्पनी ।
•••
सौराहाको धमिलो बगेको राप्ती नदीकिनारमा दुइटा हुट्टिट्याउँ उभिइरहेका छन्, सायद चारो खोज्दै छन् । धेरैबेर ती यताउता गर्दै बसे । छेउको रूखमा तीनवटा सारौं बसिरहेछन् भने भुँइमा केही कोटेरो मुनियाँ छन् । भर्खरै उड्न सिक्दै गरेको बचेरो सारौंलाई उड्न सिकाउँदै छन् उसका बाआमा सायद । केहीबेरमा एउटा गोही हुट्टिट्याउँकै छेउबाट पौडिँदै छ । आकाश बादलरूपी पानीले ढपक्कै छोपेको छ । कुनै पनि बेला खस्न सक्छ । खसेपछि त्यो बादल कतै माटोमा पस्छ, कतै जंगलमा फस्छ त केही हुर्रिएर खोला–नदी भेट्न आउँछ । नदीकिनारको होटलमा मान्छेले भने सफा, नीलो पौडी पोखरी बनाएको छ । धमिलो नदीछेउ नीलो पौडी पोखरी, त्यसैको छेउमा कफी र बार । पारि चितवन राष्ट्रिय निकुञ्जका बाघलाई भने त्यो क्याफेबारमा निषेध छ ।
विनाशको गति बढो तेज भयो, कृषिका कारण । अघिल्लो शताब्दीको ८० प्रतिशत वनफँडानी खेतीपातीका लागि भयो अर्थात् मान्छेका लागि । पृथ्वीमा पाइने चरा प्रजाति सबै जोख्ने हो भने अहिले उडिरहेका चराको भाग जम्मा २९ प्रतिशत हुन आउँछ बाँकी सबै मासुजन्य कुखुरा हुन् । सबै स्तनधारी जोख्ने हो भने जम्मा ४ प्रतिशत तौल स्तनधारी जंगली जनावरको हुन आउँछ । ३६ प्रतिशत मान्छेको र बाँकी ६० प्रतिशत घरपालुवा र मासुजन्य जनावरको छ । अर्थात् यो पृथ्वीमा कि त मान्छे छ, कि त मान्छेले खाने मासुप्रजाति छन् । जंगली प्रजाति त हराउँदै गए । माटोभित्रको विविधताको त लेखाजोखा पनि राम्रोसँग भएको छैन । कुल्चिहिँडने माटाको के लेखाजोखा !
बेलायती लेखक जर्ज मन्बइटले आफ्नो पछिल्लो किताब ‘रिजेनेसिस्’ लेखेका छन् । खासमा भन्ने हो भने अहिलेको सबैभन्दा ठूलो वातावरणीय समस्या माटोमा छ । यसरी माटोलाई पेलेर अगाडि बढ्न सम्भव छैन र त्यो निकै घातक हुनेछ । तर, केही बाठा मान्छेहरूले केही नयाँ कुरा सोचिरहेका छन् । उनीहरू हावामा खाना उत्पादन गरिरहेका छन् ।
‘मन्बोइट’ यो प्रविधिले माटोलाई राहत दिन्छ भन्नेमा विश्वस्त देखिन्छन् । यदि खेतमा नभएर हामीले सूक्ष्म जीवका ब्रुअरीहरू संसारैभरि खोल्न सके त्यहाँ सूक्ष्म जीवले खाना बनाउनेछन्, किसानले होइन । माटोमा होइन हावामा खाना फलाउने, घामको सहारामा । जमिनलाई राहत दिने, माटोलाई रम्न दिने प्रकृतिमै । उसले बनाएको विविधतायुक्त पृथ्वी उसैलाई फिर्ता गर्न मान्छेले सक्ला वा तयार होला ? झिनो आशा त राख्न पाइयो, तर मान्छे त्यति उदार प्राणी भने होइन ।
हावाबाट खाना फलाउने काम चाहिँ सुरु भइसकेको छ । फिनल्यान्डको हेलसिन्कीमा सोलार फुड नाम गरेको कम्पनी छ, जहाँ सूक्ष्म जीवले हावामा रहेको कार्बनडाइअक्साइड, हाइड्रोजन र अक्सिजन खान्छन् र झन्डै ७० प्रतिशत प्रोटिनयुक्त पिठो बनाउँछन् । ती सूक्ष्म जीवहरू किसानले एक किलो अन्न उत्पादन गर्दा लाग्ने पानीको जम्मा एक प्रतिशत पानी प्रयोग गर्छन् भने अहिले खपत भइरहेको जमिनको जम्मा पाँच प्रतिशत जमिन प्रयोग गरेर उत्ति नै मात्रामा खाना उत्पादन गर्न सक्छन् । त्यो ‘सोलेइन’ नाम गरेको पिठोको बजार परीक्षण गर्न सिंगापुरले अनुमति नै दिइसक्यो ।
•••
सिमलतालको पहिरे बाटो फर्कने आँट नभएपछि चितवनबाट गाडी हेटौंडा मोड्यौं र फेरि उकालियौं । भैंसे, भीमफेदी, सिस्नेरी, छैमले हुँदै फेरि भैंसेपाटी, पहिरा छिचोलेर । पुरानो भैंसीको पाटीमा आलिसान बंगला बनिरहेका छन्, जहाँ फेरिइरहने मन्त्री बस्न थालेका छन् । म मन्त्रीमहल आसपासको माटोमा बसिरहेछु, थचक्क । हामीले मन्त्रीबाट मुक्ति नपाए पनि के प्रविधिले माटोलाई मुक्ति देला ? फिनल्यान्डको सोलर फुड्सको कथाले मलाई हल्लाइरहेको छ । सधैं पिएर मात्रै हल्लिनुपर्छ भन्ने छैन । समाचार, विचारले पनि त हल्लाउँछन् । के मान्छेले अँचेटेको, पिरोलेको माटोले आफ्नै लयमा काम गर्न पाउला ? के त्यहाँ फेरि करोडौं सूक्ष्म जीवदेखि जनावर, रूखबिरुवा फर्कन पाउलान् ? माटो फेरि आफ्ना पुराना किरायादारहरू फर्केकामा खुसी हुन पाउला ?
म उठेर मन्त्रीमहलबाट उत्तर लागें । माटोबारे पढ्न थालेदेखि हरेक पाइलामा म कसै न कसैको लासमाथि टेकेर हिँडिरहेको छु भन्ने भान हुन थालेको छ । भविष्यमा तपार्इंको शरीरमाथि टेकेर कैयौं मानिस हिँड्नेछन्, तर तिनीलाई पत्तै हुनेछैन । तिनले तपाईंलाई खानेछन्, तर तिनले महसुस गर्ने छैनन् । किनकि माटोले तपाईंलाई आफूमै मिसाउनेछ, स्वाद फरक हुनेछ ।
आजसम्म कुनै पनि मानिस वा जनावर वा जीवजन्तुले यो पृथ्वी छाडेका छैनन् । उनीहरूले स्वरूप मात्रै फेरेका हुन् । ती कहिले धान बन्छन् त कहिले साल । कहिले कोदो बन्छन् त कहिले जौ । कहिले बाघ बन्छन् त कहिले बालक । यो पृथ्वीमा सबै कुरा घुमिबस्छ । सबै जीवजन्तु पनि घुमिबस्छन्, फरक–फरक स्वरूपमा । तर, ती सबैको रूप फरिदिने माटोले मात्रै हो । त्यो जननी हो र बिसर्जक पनि । माटो रहस्यको पोको हो । हरेकलाई आफूमा समाहित गर्न सक्ने, घोल्न सक्ने, मोल्न सक्ने, पुर्न सक्ने, उमार्न सक्ने, उफार्न सक्ने, थेचार्न सक्ने ।
कमजोर माटो, दूषित माटोले अन्ततः मानिसलाई नै सिध्याउँछ । माटो सधैं बेखुसी रहन सक्दैन र मान्छे माटोलाई भेन्टिलेटरमा राखेर सधैं उँभो लाग्न पनि सक्दैन ।
यसैले पैतालामुनि पनि बेलाबेला हेरौं, कुल्चेको छु भनेर माटोलाई नहेपौं । जिउँदो हुँदा उभिने आधार हो माटो, मरेपछि अरूलाई उभ्याउन सक्ने धरातल । माटो सबै जाने बाटो हो र फर्कने पनि । त्यो हो, जीवन–मरणको राजमार्ग ।


